हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ ले पशु कृत्रिम गर्भाधान निःशुल्क गर्ने घोषणा गरेको छ । वडा भित्र रहेका हरेक पशुपालक कृषकहरुलाई राहत होस् भन्ने उद्देश्यले पशुहरुको तथ्यांक संकलन गरि निःशुल्क कृत्रिम गर्वाधान गर्ने घोषणा गरिएको वडाध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभएको छ । पुश सेवा कार्यालयसंग समन्वय गरि आवश्यक निति बनाई उक्त कार्यक्रम शिघ्र सञ्चालन गर्ने वडा समितिको निर्णय भएको उहाँले बताउनुभयो ।
अर्थतन्त्रको मेरुदण्ड कृषि र पशुपालन भएकाले वडाले पशुपालक कृषकहरुको आर्थिक स्तर वृद्धि गरि व्यवसायीक र आत्मनिर्भर बनाउने उद्देश्य रहेको नवनिर्वाचित वडाध्यक्ष अर्यालले बताउनुभयो । नगरकै कान्छो वडाध्यक्ष समेत रहनुभएका अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले सामाजिक रुपान्तरणका साथसाथै लक्षित वर्गका कार्यक्रम तथा योजनाहरुलाई पनि प्राथमिकता दिंदै अगाडि बढ्ने बताउनुभयो ।
साथै यस अघिको वडा समितिको बैठकले विद्यालयको शैक्षिक गुणस्तरको अनुगमन गर्नुका साथै उमेर पुगेका वालवालिकालाई अनिवार्य रुपमा पढ्न पाउँने अधिकारको सुनिश्चितता गर्न लागि पर्ने निर्णय गरेको थियो ।




















