लुदअ असार १२, काठमाण्डौ
राजीनामा दिंदै सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।
आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।
मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो पनि गर्नुभयो । मन्त्रीहरू परिर्वतन हुँदा सञ्चारमाध्यमबाट नभइ पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्षप्रति गुनासो गर्नुभयो ।
मन्त्री झाँक्रीले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनी सोध्दा उहाँले बजेटसम्म काम गर्नुस् भनेको पनि सुनाउनुभयो ।
यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएको थियो ।




















