लुदअ, कपिलवस्तु
नेकपा एमाले निकट अनेरास्ववियुले ७१ औँ मदन जयन्तीका अवसरमा जनप्रतिनिधिमा निर्वाचित भएका विद्यार्थी नेताहरूलाई सम्मान गरेको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएका विद्यार्थी नेताहरूमध्ये वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २० जना सम्मानित भएका हुन् । जसमा कपिलवस्तुको बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष बाबुराम अर्याल पनि सम्मानित भएका छन् ।
सम्मानित भएका वडा अध्यक्ष बाबुराम अर्यालले जनताको माया पाउन जनताकै सेवा गर्नुपर्ने बताए । अर्यालले अब आफ्नो भूमिका फेरिएको भन्दै प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेकाले वडाबासिलाई चित्त बुझाउने गरि काम गर्ने प्रतिबद्धता गरे ।
नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एमाले महासचिव शंकर पोखरेल,विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य माधव ढुंगेल,अनेरास्ववियुका अध्यक्ष सुनिता बराल लगायतले सम्मानित गरेका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई विकास र सम्बृद्धिका साथै उत्पादन तथा उद्यमशीलताका कार्यक्रममा केन्द्रित हुन महासचिव शंकर पोखरेलले निर्देशन दिए ।




















