लुदअ २५ असार, वीरगञ्ज
स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुखमा निर्वाचित भएका थिए ।
नयाँ जोश र नवीन सोचले पालिकाको विकास हुने अपेक्षा नागरिकले राखेका थिए । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले गर्दा गाउँ सभासमेत हुन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा असार १० गतेभित्र सभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । १५ दिन भित्र कार्यतालिका बनाई छलफलको काम सम्पन्न गर्नुपर्छ । असार मसान्तभित्रमा पारित गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
कालिकामाई गाउँपालिकाले भने अहिलेसम्म बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । २४ असार शुक्रबार राखिएको गाउँसभा पनि गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।
कालिकामा २९ जना गाउँ सभा सदस्य रहेकोमा १४ जना मात्रै उपस्थित भएपछि गणपुरक संख्या नपुगेको हो ।
गाउँ सभामा आर्थिक विधेयक, विनियोजन विधेयक, नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो । दिउँसो २ बजेदेखि सुरु हुने भनिएको गाउँ सभा गणपुरक संख्या नपुगेछि अपराह्न ४ बजे स्थगित गरिएको थियो ।
गणपुरक संख्या नपुगेपछि अध्यक्षले गाउँसभा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए ।
‘नीति, कार्यक्रम, बजेट ल्याउने काम जनप्रतिनीधिहरूको हो, हामीले समन्वय मात्रै गर्ने हो’ उनले भने, ‘ शुक्रबारको गाउँसभा गणपुरक संख्या नपुगेर स्थगित भएको छ, अब अर्को बैठक अध्यक्षले कहिले डाक्नुहुन्छ थाहा छैन ।’
कांग्रेस र एमालेको तर्फबाट निर्वाचित १५ जना गाउँसभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपुरक संख्या पुग्न नसकेको पालिकाले जनाएको छ ।




















