लुदअ भदौ ६, काठमाण्डौ
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।
आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताउनुभएको हो । उहाँले चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताउनुभयो ।
प्रवक्ता पौडेलले चुनावमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि उल्लेख गर्नुभयो । चुनावमा उम्मेदवार बनाएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले चुनावमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यावहारिक रूपमा ठिक नभएको बताउनुभयो ।




















