काठमाण्डौं । प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको अनावश्यक हस्तक्षेपको परिणाम भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले नेपालमाथि लागेको फिफाको प्रतिबन्ध केवल खेलकुदसँग सम्बन्धित विषय मात्र नभई सरकारको गलत निर्णय र हस्तक्षेपको प्रतिफल भएको दाबी गरे।
उनले फिफा र एएफसीले पटक–पटक एन्फाको निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न तथा अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएको स्मरण गराउँदै सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाए।
राष्ट्रिय खेलकुद परिषद्बाट निर्वाचन प्रक्रिया रोक्ने, एन्फालाई निलम्बन गर्ने तथा संस्थाको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने कार्य भएपछि अन्ततः फिफाले त्यही हस्तक्षेपलाई आधार बनाएर नेपाललाई निलम्बन गरेको उनको भनाई थियो।
सांसद मल्लले उक्त निर्णयबाट हजारौँ खेलाडी, प्रशिक्षक, रेफ्री तथा नेपाली फुटबलप्रेमी प्रत्यक्ष प्रभावित भएको बताए। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा परेको र यसले राष्ट्रको प्रतिष्ठामाथि समेत गम्भीर धक्का पुगेको पनि बताए।
सरकारसँग तत्काल कदम चाल्न आग्रह गर्दै उनले कूटनीतिक तथा संस्थागत पहलमार्फत फिफा सँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध यथाशीघ्र फुकुवा गराउन माग गरे। साथै खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै भविष्यमा यस्ता हस्तक्षेप दोहोरिन नदिने सुनिश्चितता गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।




















