लुदस ,कपिलवस्तु । नेपालीहरूको महान् पर्व दसैँ नजिकिँदै गर्दा विदेशमा रहेका नेपालीहरूको पीडा, परिवारप्रतिको माया र घर फर्किने चाहनालाई समेटेर तयार पारिएको दसैँ गीत ‘ए म त परदेशी’ सार्वजनिक भएको छ। मनिषा खनालको अभिनय रहेको उक्त गीतले परदेशमा रहेका नेपालीहरूको दसैँसँग जोडिएका भावना र सम्झनालाई प्रस्तुत गरेको छ।
गीतमा शान्तिरानी परियार, राजेन्द्र बराल र विमल पौडेलको स्वर रहेको छ। पूर्णराज बेल्बासेको शब्द तथा सङ्गीत रहेको गीतमा मनिषा खनाल, सम्झना खनाल, अनु शर्मा, बासुदेव बस्नेत र खिमप्रसाद शर्माले अभिनय गरेका छन्।
लालबहादुर ढेङ्गाको निर्देशनमा तयार भएको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो। गीतलाई पूर्णराज बेल्बासेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
दसैँ नेपालीहरूका लागि परिवारसँग भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने र खुसीयाली मनाउने विशेष पर्व हो। तर रोजगारी तथा अन्य कारणले विदेशमा रहेका धेरै नेपालीका लागि दसैँको समय घरपरिवारबाट टाढा रहनुपर्ने पीडासँग पनि जोडिएको हुन्छ। यही यथार्थलाई गीतले सङ्गीत र अभिनयमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
घरपरिवारसँगै बसेर दसैँ मनाउने रहर, गाउँघरको सम्झना र परदेशमा रहँदाको भावनात्मक अवस्थालाई समेटेकाले ‘ए म त परदेशी’ दसैँको समयमा दर्शक तथा श्रोताका लागि भावनात्मक गीत बनेको छ। भिडियो ……https://youtu.be/3UX7XU0yZFc?si=hmENbovz9_Jp2sP-




















