बुटवल, बैशाख १द्द
कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीमा १६ ओटै स्थानीय तहमा विद्यालय बन्द गरिने भएको छ ।आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ । यसको साथै बैठकले सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरि पूर्व तयारी अवस्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।
त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बैशाख १४ गते मंगलवारदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।बैठकमा सबै स्थानिय तहका अध्यक्ष प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।



















