कपिलवस्तुका पाँचै जना कोरोना संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए

[sharethis-inline-buttons]

लुदअ २७ बैशाख, कपिलवस्तु 

कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट सँगै आएका थिए ।

आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् । वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए । यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् ।

नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन । उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ । कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।


प्रकाशित : २०७७ बैशाख २७, शनिबार ०८:१२