
लुदअ कपिलवस्तु, असोज ३
पाँच नम्बर प्रदेश सरकारले ६ वटा जिल्लास्तरीय अस्पताललाई स्तरोेन्नती गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका बिभिन्न ६ वटा जिल्लास्तरीय अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निणर्य गरेको हो ।
प्रदेश सकारले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नती गर्ने निणर्य गरेको मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेश नोटमा उल्लेख छ । बैठकले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाको वडासंख्या र सीमाना हेरफेर गरी क्रममिलान गर्ने गाउँपालिकाको प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

