थानेश्वर अधिकारी, वैशाख २२ । बुद्धभूमि नगरपालिकाले कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणको लागि नगरपालिका वडा नं. २ बडहरा स्थित गौतम बुद्ध क्याम्पसमा अक्सिजन सिलिण्डरसहित २५ शैयाको आइसोलेसन सेन्टर तयार गरी संचालनमा ल्याएको छ । आइसोलेसन सेन्टर तयार भएलगत्तै कोरोना पोजेटिभ भएका बिरामीहरुको उपचार गर्न शुरु गरिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत गोकर्ण अर्यालले जानकारी दिए । शाखा अधिकृत अर्यालका अनुसार अहिले ४ जना कोभिडका बिरामीहरुको उपचार भैरहेको छ ।
अधिकृत अर्याल आफू पनि कोरोना संक्रमित भएका छन् । आफूमा कोरोना पोजेटिभ भएता पनि स्वास्थ्य शतर्कता अपनाउँदै आइसोलेसन सेन्टरमा बिरामीहरुको उपचार गरिरहेको बताए ।
यस्तै सो आइलेसन सेन्टरमा अक्सिजन सहितको एउटा एम्बुलेन्सको निशुल्क व्यवस्था गरिएको छ । सो एम्बुलेन्स कोरोना पोजेटिभहरुलाई मात्र सेवा दिने नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले बताए । एम्बुलेन्सबाट रुपन्देही, दाङ, पाल्पा र बाँकेसम्म निशुल्क सेवा दिइने छ ।
आइसोलेसन सेन्टरमा उपचार भैरहेका पोजेटिभ बिरामीहरुका लागि नगरपालिकाले खाना, खाजा र उपचारको व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् । यस नगरपालिकामा दोस्रो चरणको कोरोना कहरमा २ सय ९१ जना कोरोना सक्रमित छन् जसमध्ये ७ जनाले कोरोनाका कारण ज्यान गुमाएको बुद्धभूमि नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।