जेठ ११, २०७८
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीसँग अनुरोध गरेको छ । १२ दिन अघि नगरप्रमुख बासुदेव घिमिरेले आइसीआरसीका प्रमुखलाई पत्र लेख्दै कोरोना खोपको उपलब्धता र समन्वयको लागि अनुरोध गरेका हुन्। नगरपालिकामा कोरोना संक्रमण तिब्र रुपमा बढेको अझै जोखिम थपिन सक्ने भएकाले खोपको माग गरिएको पत्रमा उल्लेख छ । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले आईसीआसीसँग खोप उपलब्ध गराउन अनुरोध गरिएको बताउँदै खोप आउने आशा गरेको बताए । ‘पत्रचारसँगै नगरपालिकाले विभिन्न माध्यमबाट आईसीआरसीका प्रतिनिधिहरु सम्पर्क गरिरहेको छ । उनले भने ‘उताबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’ पत्रमा नगरपालिकाको लागि ७० हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरिएको छ । माग गरेजति सबै नआएपनि थोरै धेरै खोप आउने नगरपालिकाका प्रवक्ता श्रीले बताए। ‘हामीले नगरबासीलाई पुग्दो हिसाबले माग गरेका छौं । उपलब्धता र अवस्था के छ त्यस अनुसार आउला ।’ उनले भने ’माग गरेबमोजिम आए राम्रै भयो । थोरै आयो भने पनि हामी अरु संघ संस्थासँग पनि सम्पर्क गर्छौ ।’ तिलोत्तमा हालसम्म ५ हजार बढि संक्रमित भएका छन् । त्यस मध्ये ४ हजार २ सय निको भइसकेका छन्। कोरोना संक्रमणबाट नगरमा ८५ जनाले ज्यान गुमाइसकेका छन् । एक हजार जति अझै पनि आइसोलेसनमा छन् ।