
नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ। भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपालसँग कोभिसिल्डको विकल्प माग गरेको थियो। नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो।स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोखरेलले खोप सल्लाहकार समितिको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एण्ड जोनसनलाई सिफारिस गरेको जानकारी दिनुभयो ।कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो । कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले ९२ देशलाई जनसंख्या हेरेर समानुपातिक रूपमा खोप दिने जनाएको छ।