लोकदोहोरी प्रतिष्ठानद्धारा कलाकारका लागी खाद्यान्न सामाग्री बितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी,काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आज पहिलो चरणमा प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको छ ।

प्रतिष्ठान केन्द्र र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय समितिको संयुक्त आयोजनामा प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई आजबाट चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

यस अभियानको पहिलो चरणमा वितरण गरिएको सम्पूर्ण सामग्री प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा उपलब्ध भएको अध्यक्ष बिजीले जानकारी दिए । कोरोना भाइरस दोस्रो लहर भेरियन्टका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएर छाक छार्न समस्या परेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको उनले बताए ।

पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि हजारौँ कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन व्यवसाय तथा दोहोरी साँझमा काम गरेर आफ्नो गुजारा र घर परिवारको पनि पेट पाल्दै आएका कयौँ कलाकारहरु यतिबेला कोठा भाडा तिर्न र खान नपाएर छटपटाइरहेका छन् ।

अध्यक्ष बिजीले पहिलो चरणमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुलाई राहत वितरण गरिए पनि आगामी दिनमा प्रतिष्ठानमा आवद्ध नभएका तथा कलाकारीतामा लागेर महामारीको चपेटामा परेका कलाकार र पत्रकार एवं सञ्चारकर्मीहरुलाई पनी राहत उपलब्ध गराउने बताए । साथै, उनले अशक्त तथा नेत्रहिनहरुलाई पनि सहयोग गर्ने सोंच रहेको बताए ।

महामारीको चपेटामा परेर केही कलाकारहरु विभिन्न युट्युब च्यानलहरुमा रुँदै पीडा पोखेको दृश्य देखेर आफूलाई समेत पीडाबोध थपिएको भन्दै अध्यक्ष बिजीले त्यसरी पीडा पोख्दै बाहिर हिँड्नुभन्दा सिधै प्रतिष्ठानलाई सम्पर्क गरेर राहत लिन आग्रह गरे ।

यो महामारीको बेला आफू बाँच्ने र अरुलाई पनि बचाउन पर्छ भन्ने उद्देश्यका साथ प्रतिष्ठानले यो अभियान सुरु गरेको अध्यक्ष बिजीको भनाइ छ । कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए ।

पहिलो चरणको राहत बितरणको अगुवाई उपत्यका समन्वय समितिको अध्यक्षमा सुजन लम्सालले गरेका छन् । पहिलो चरणको राहत वितरणको दिन नै करिव पाँच सय जनाले नाम दर्ता गराएको अध्यक्ष बिजीले जानकारी दिए । अझै पनि त्यस्तो समस्या भोगीरहेकाहरुलाई सम्पर्कमा आउन उनले आग्रह गरेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार ११:१०