बुुटवल,असार १५
लुम्बिनी प्रदेशमा करिब आधा रोपाइँ सकिएको छ। असार १५सम्म आइपुग्दा करिब आधा रोपाइँ सकिएको तथ्यांकले देखाएको छ। अहिलेसम्म ४५।७ प्रतिशत धान रोपाइँ भएको छ। कुल धानखेती हुने ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार हेक्टरमा रोपाइँ सकिए कोकृषि निर्देशनालय बुटवलले जनाएको छ । गत वर्ष मध्य असारसम्म तराई क्षेत्रमा यो भन्दा कम रोपनए भएको थियो ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारीका अनुसार यो वर्ष मनसुन समयमै सक्रिय भएकाले चाँडै रोपाइँ शुरु भएको हो । उनका अनुसार यो वर्ष चाँडै रोपाइँ हुनेछ। तराईका अन्न भण्डारका रुपमा रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा धमाधम रोपाइँ चलिरहेको छ। आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा पनि यो वर्ष वर्षा राम्रो भएकाले रोपाइँ गर्न किसानलाई सहज भएको हो।
कपिलवस्तुमा यो वर्ष २४।९ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ।दाङ र नवलपरासीमा ६० प्रतिशत रोपाइँ सकिएको छ। तराईको अर्को जिल्ला बर्दियामा पनि ६३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। यसैगरी पहाडी जिल्लाहरुमा भने रोपाइँ लगभग सकिने तरखरमा छ।रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको छ। प्युठानमा ८० प्रतिशत, रुकुम पुर्वमा ६३, गुल्मीमा ७, अर्घाखाँचीमा ५९, पाल्पामा ३१ प्रतिशत रोपाइँ भएको छ।
यसैबीच, लुम्बिनी प्रदेश सरकार सहित विभिन्न स्थानीय तहहरुले ठाउँ–ठाउँमा राष्ट्रिय धान दिवस मनाएका छन्। किसानलाई धानखेतीमा प्रोत्साहन गर्ने गरी धान दिवस मनाइएको हो। लुम्बिनी प्रदेश सरकारले बाँकेमा दिवस मनाएको छ। यस्तै १२ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि समेत खेत–खेतमा सहभागी भएर दिवस मनाएका छन्।




















