
बुटवल, साउन २४
देविनगरको एन्फा टेक्निकल सेन्टर र देविनगर टेनिस कम्प्लेक्सको दक्षिणतर्फ पछिल्लो पटक एकाएक दुई वटा नयाँ बोर्डहरू थपिए । आमा समूहहरूको संयुक्त कार्यालय भवन निर्माण र तल्लो देविनगर टोल आमा समूहको प्रस्तावित भवन निर्माण स्थल बुटवल (११ लेखिएका निलो र हरिया दुई बोर्डहरू गाडिएका हुन् ।
खेलकुद प्रतियोगिता संचालन हुँदा सवारी पार्किङ हुने सो क्षेत्रमा एका एक नयाँ बोर्ड थपिँदा स्थानीय खेलप्रेमीहरू चिन्तित छन । यो नौलो भने होईन । गतबर्ष समेत यही महिनामा एकेडेमीको दक्षिणतर्फ महिमा चर्चले समेत तारजाली गरेर ४ कठ्ठा जग्गा रोकेको थियो । स्थानीय बासिन्दाहरू आफूहरूले संरक्षण गर्दै आएको सार्वजनिक जग्गा महिमा चर्चका पदाधिकारीहरूले तारबार गरेको मिचेको भन्दै हटाउनका लागि बुटवल उपमहानगरपालिका वडा, नं। ११ कार्यालय र नगरपालिका कार्यपालिकामा अघिल्लो वर्ष साउन ११ गते निवेदन पेश गरेका थिए।
सो निवेदनको आधारमा नगरपालिकाबाट अनुगमन भएको भएपनि थप काम केही नहुँदा अतिक्रमणकारीहरुको मनोबल बढ्ने स्थानीयहरूको तर्क छ । एक वर्षदेखि सुनुवाई भएको छैन ।’ देवसिद्ध समाज सुधार समितिका अध्यक्ष पुणानन्द गिरीले दुखेसो गरे । एकेडेमी को दक्षिण सवारी पार्किङ गर्ने स्थानमा
भैरव मन्दिर निर्माणस्थल र संयुक्त एम्बुलेन्स चालक संघ रूपन्देहीका पनि बोर्ड थपिएका छन। तारजाली गरिएका छन। देबिनगरको करीब २० बिगाहा बढी सार्वजनिक जग्गाहरू रहेको धेरै ठाउँमा बोर्ड राख्न शुरु भएका छन । सामाजिक संस्थाका नाममा सार्वजनिक जग्गा क्षेत्रमा भवन निर्माणका लागि बोर्ड थपिँदा स्थानीय सरकार भने कानमा तेल हालेर बसेको उनको दुखेसो छ।
सार्वजनिक जग्गा संरक्षणमा सरकारको चासो नजाँदा अतिक्रमण बढेको स्थानीय बताउँछन । आफनो क्षेत्रमा रहेको सार्वजनिक जग्गाको लेखाजोखा राख्ने, आवश्यकता अनुसार संघसंस्थाहरूलाई उपलब्ध गराउने प्रावधान स्थानीय सरकारको जिम्मेवारीमा पर्दछ । पछिल्लो समय स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएसंगै आफ्ना नजिकका र दबाबमा सार्वजनिक जग्गाहरू मनोमानी ढंगबाट बाँड्ने गलत प्रवृति हाबी भएको गुनासो आउन थालेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडाअध्यक्ष, अब्यवस्थित तथा सार्वजनिक जग्गा कार्यदलका संयोजक रामचन्द्र क्षेत्रीले सार्वजनिक जग्गा संरक्षण र व्यवस्थापनको काम समितिमार्फत अघि बढाएको बताए । सार्वजनिक जग्गा मापन गरि यकिन तथ्याक निकाल्ने काम जारी रहेको उनले बताए । खुल्ला ठाउँ अभाव भैरहेका बेला देविनगरको सार्वजनिक जग्गामा धेरैको आँखा परिरहेको भन्दै यहाँ पूर्वाधार बनाउने भन्दा पनि खुल्ला टुँडिखेलका रूपमा संरक्षण अघि बढाउने योजना रहेको उनले बताए ।
धेरै सामाजिक संघसंस्थाहरूबाट जग्गा मागको निवेदन कार्यालयमा दिने गरेको उनले बताए । बुटवल उपमहानगरपालिका नगरपालिका कार्यालयका जग्गा शाखाको सहायक नासु रामप्रसाद पन्थीले सामाजिक संघसंस्थाहरू आफू खुशी खाली जग्गामा बोर्ड लगाउने गरेको बताउँछन । बुटवल उपमहानगरपालिकामा अब्यवस्थित तथा सार्वजनिक जग्गा कार्यदल गठन भएर धेरै कामहरू अघि बढेको उनले बताए ।
नेपाली राष्ट्रिय टिमका स्टाईकर बिमल घर्तीमगर बुटवल देविनगरकै उत्पादन हुन । उनीसँगै अन्य धेरै युवाहरू तयार भैरहेका छन । देविनगरस्थित लनटेनिस कम्प्लेक्समा लनटेनिस खेलका खेलाडी उत्पादन गर्दै आएको छ । राष्ट्रिय स्तरको लगातार क प्रतियोगिता भैरहेको छ । अन्तर्राष्ट्रिय स्तरको कोर्ट बनाउने लक्ष्यसहित संघका पदाधिकारीहरू अघि बढेका छन् । ‘हामीलाई जग्गाको अभाव छ।’ संघका अध्यक्ष सन्जय श्रेष्ठले भने । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने गरि पूर्वाधार बनाउने जोड गरेको उनले बताए ।
जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसीले खेलप्रति सरकारको ध्यान अझै सकारात्मक नभएको दुखेसो गरे। धेरै पहिलेदेखि अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना अघि बढाएको भएपनि सफल नभएको बताए। एफएफसीबाट कृतिम खेलग्राउण्ड बनाउन बजेट बिनियोजन भएर करीब ३ (वर्षदेखि वडामा जग्गा भोगचलानको निवेदन दिएपनि सुनुवाइ नभएको उनले गुनासो गरे। नगरपालिकासंग २५ वर्षका लागि एन्फा एकेडेमी सहकार्य गरेर विसं। २०५५ सालमा रंगशाला बनाउने सम्झौता अनुसार एकेडेमी संचालन भएको हो। ‘एकेडेमीलाई अहिले जग्गा अभाव भैरहेको छ ।’ उनले भने। उत्तरतर्फको खाली जग्गा टेनिङ गाउण्ड माग गर्दा पनि उपलब्ध नगराएको उनले बताए ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले देविनगरको सार्वजनिक जग्गा उपयोग हुने गरि खेलग्राम बनाउन सुझाव आए अनुसार काम अघि बढेको बताए । सो क्षेत्रको जग्गाको तथ्याक लिने, लगत स्टीमेट गरेर प्रतिवेदन तयार गरेको भन्दै स्पोट जोनको गुरुयोजना बनाएको भएपनि त्यो काम रोकिएको बताए । आफू चीन भ्रमणको बेला त्यहाँ देखेको खेल विकासको योजनालाई यहाँ ल्याउने लक्ष्य लिएपनि त्यो सफल नभएको उनले गुनासो गरे । ‘ईन्डोर कोर्ट, सबै खाले खेल गराउने मिल्ने र तालिम गराउने मिल्ने गरि पूर्वाधार बनाउने योजना थियो।’ उनले भने।
उपमहानगरपालिकामा कुनै किसिमको विपत्ति आईपरे खुल्ला चौर अभाव छ । यस्तोमा देबिनगर एन्फा एकेडेमी पश्चिम वरपर करिब २९ विगाहा क्षेत्रफल संरक्षण गर्न जरुरी देखिन्छ ।
गुरुयोजना बनाएर खेल ग्राम बनाउनुपर्ने नगरका खेलकुद प्रेमीहरूको सुझाव समेत बेवास्ता भएको छ । जग्गा संरक्षण गर्नुको साटो नगरपालिकाले विभिन्न संघसंस्थाहरूलाई बाँडिरहेको छ । अहिलेसम्म करिब २९ विगाहा क्षेत्रफलमध्ये एन्फा एकेडेमीले साढे ४ बिगाहा, देवसिद्ध सामाज सुधार तथा विकास समितिले डेढ विगाहा क्षेत्रफलमा मन्दिर र सभाहल बनाएको छ ।
यसैगरि देवसिद्ध खानेपानी तथा सरसफाईले करीब २ विगाहा, लन टेनिसले ७ कठ्ठा, नेपाल अपाङ आश्रमले ५ कठ्ठा गरि करीब आठ विगाहा जग्गा क्षेत्रफल सार्वजनिक संघसंस्थाहरूले ओगटेको छ । सो क्षेत्रमा अझै २० विगाहा क्षेत्रफल बाकी रहेको छ । बाँकी रहेको जग्गामा धेरैको आखा लागेको छ ।’ समितिका सदस्य केशव थापाले भने। पटक पटक अतिक्रमणको चपेटामा परेको सो क्षेत्रको जग्गा तीन दशकदेखि संरक्षण गरेको स्थानियहरूको दाबी छ ।
वि।सं। २०४८ सालमा स्थानीय बासिन्दाहरूले लालपुर्जी बनाउने काम अघि बढाएपछि सो जग्गा नगरपालिकाबाट संरक्षण अघि बढाएको स्थानीय मणिप्रसाद अधिकारीले बताए। पूर्व मेयर सुर्य प्रसाद प्रधानको पालामा वृक्षारोपण गरि जग्गा संरक्षण अघि बढाएका थियौ।’ उनले भने। संरक्षण गरेको जग्गा स्थानिय सरकारले मनोमानी बाड्नु गलत भएको उनको तर्क छ । ‘सार्वजनिक जग्गा संस्थाका नाममा धमाधम बाड्ने कामले भोली जग्गा अभाव देखिने छ ।’ उनले भने।
लुम्बिनी प्रदेशको प्रदेशको मुकाम रूपन्देहीलाई खेलकुद पर्यटनका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ । संघ, प्रदेश र स्थानिय सरकारहरू समेत आआफनो क्षेत्रमा खेल पूर्वाधार विकासमा महत्वपूर्ण योजना अघि सारेको छ । सिद्धार्थनगरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निमाण जारी छ। सैनामैना नगरपालिकाको देउपारमा अन्तराष्टिय क्रिकेट मैदानसंगै अन्य धेरै पुर्वाधार विकास भएको छ।
रूपन्देहीको केन्द्र बुटवल उपमहानगरपालिका पनि आफनो क्षमता अनुसार खेल क्षेत्रमा लगानी गरेको छ । यहाँ धेरै पुर्वाधार शिलान्याससंगै पुराना खेलमैदानहरू मर्मतका काम भएका छन । विकासमा इटा थप्ने काम भएको छ । तर पनि एउटा महत्वपूर्ण खेलका लागि आवश्यक पर्ने खेलग्राम बनाउनेतर्फ भने पहल हुन सकेको छैन। आठौ राष्ट्रिय प्रतियोगिता आयोजना पछि नेपालगंज क्षेत्रमा धेरै पूर्वाधार विकाससंगै खेल गतिविधि र चहलपहल भयो । आठौको बेला तेक्वान्दो, लनटेनिससहितका केही खेलहरू रूपन्देहीमा आयोजना भयो ।( स्रोत बुटवल टूडे

