
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । बैजलपुर र नन्दनगर टोल विकास संस्थाका ३५ जना आमाहरु तथा ३६ जना बुवाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
२०४ जना आमाहरु र १९७ जना बुवाहरु गरि जम्मा ४ सय १ जना वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । चिसो बढ्न लागेको र यस मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएकोे वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
वडाले विगतका वर्षहरुमा पनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । यो अवस्थामा जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भएकाले वृद्धवृद्धाहरुप्रति सहयोगी भावना राख्न वडाध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ ।
वृद्धवृद्धाहरुले हासिल गरेका अनुभवबाट युवा पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेको भन्दै वडाध्यक्ष पौडेलले वृद्धवृद्धाहरुको सम्मानमा कहिल्यै चुक्न नहुने बताउनुभयो । वडाध्यक्ष पौडेलले यस कार्यक्रममा सहयोग गर्नहुने वडा समिति, राजनैतिक दलका प्रतिनिधि, टोल बिकास संस्था, वडा सचिब र वडा कार्यालयका कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ । यता वृद्ध आमाबुवाहरुले ‘ज्याकेट’ र न्यानो ‘सल’ पाएपछि खुशी व्यक्त गर्दै पौडेल जस्तो वडाध्यक्ष पाउँदा निकै खुशी महसुस भएको बताएका छन् ।