१७ फागुन ः
लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीका लागि यसवर्ष करिब २ अर्ब बराबरको भौतिक पूर्वाधारका योजनाहरु छुट्टाएको छ । त्यसरी छुट्टाएका योजनामा सबैभन्दा बढी पुल निर्माणका योजनाहरु प्राथमिकतामा परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासी जिल्लाका भएका कारण पनि जिल्लामा भौतिक पूर्वाधारका योजनाले प्राथमिकता पाएका हुन् ।
पुल निर्माणपछि स्थानीयहरुले वर्षौदेखि भौग्दै आएको आवतजावतको समस्या समाधान भएको रामग्राम नगरपालिका वडा नं. १५ का अध्यक्ष धनपत यादवले बताए । नवलपरासी जिल्लामा हरेक वर्ष करिब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु प्रदेश सरकारबाट छुट्टिने गरेको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । यसैबीच आज मात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ति चार वटा पुलको लागत २५ करोडको छ ।
उद्घाटन गरेका पुलमा सुनवल नगरपालिका अन्तरगतको महलपोखरीहुँदै पाल्पा सडक जोड्ने पुल र बर्दघाट र सुनवल नगरपालिका जोड्ने खुर्सानी खोलाका पुल छन् भने शिलन्यास गरेका पुलमा रामग्राम नगरपालिकाको घिनहवा सडकको पुल तथा रामग्राम र सुनवल जोड्ने तुरिया खोलामा अर्को पुल रहेका छन् ।