
हरि आचार्य, कपिलवस्तु
म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि.द्धारा संचालित हर्ट विट एफ.एम.९१.३ मेगाहर्जले भित्तेपात्रो विमोचन एवम् नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक दुरी कायम गर्दै एफ.एमले एक कार्यक्रमका बीच कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा प्रकाशित उक्त वार्षिक भित्तेपात्रो विमोचन गरेको हो । भित्तेपात्रो रेडियोका अध्यक्ष धातानन्द भूसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रर्जाचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पुर्व अध्यक्ष मनोज पौडेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले रेडियो संचालन गर्न चुनौतिपूर्ण रहेको भन्दै अबका दिनमा प्रदेश सरकारबाट विज्ञानपनका लागी आफुहरुले पहल गर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गिरीले कोभिडको समयमा संचारमाध्यमहरु मारमा परेको र यस्ता समस्या समधानका लागी आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले हर्ट विट एफ.एम. एक व्यवसायीक रेडियो भएकाले यसले अरुले भन्दा फरक धार समातेर काम गर्नुपर्ने सुझव दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान ब्रजाचार्यले हर्ट विट एफ.एम.संग लामो समयदेखि सहकार्य गर्दै आईरहेको भन्दै खुशी व्यक्त गरे । उनले भित्तेपात्रोमा जिल्लाका केही प्रमुख पर्यटकिय स्थलहरुको चित्र, कोभिडको संक्रमणबाट बच्ने उपाय जस्ता कुराहरु समावेश गरेको खण्डमा अझ प्रभावकारी हुने सुभाव दिए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले रेडियोले भित्तेपात्रो विमोचन गर्नु जिल्लामा नै पहिलो भएको दाबी गरे । भित्तेपात्रो तयार गर्नु साधारण कुरा नभएको भन्दै पौडेलले भित्तेपात्रो विमोचन कार्यले अन्य रेडियोलाई हर्टविट एफएमले चुनौती दिएको बताए । कान्छो रेडियोको रुपमा स्थापित भएर पनि जेठो रेडियोको रुपमा हर्टविट एफएमले भित्तेपात्रो विमोचन गरेको पौडेलको भनाई छ । आग्रह पुर्वाग्राह विना हर्ट विटले विगतदेखि नै समाचारहरु सम्प्रेषण गरेको भन्दै पौडेलले भित्तेपात्रो विमोचन कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमको समापन गर्दै रेडियोका अध्यक्ष धातानन्द भूसालले भित्तेपात्रो विमोचन कार्य रेडियोको पहिलो प्रयास भएको भन्दै आगामी दिनहरुमा सबैको सुझावलाई मध्यनजर गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमका अध्यक्ष समेत रहेका भुसालले नव बर्ष २०७८ सालको शुभकामना दिदैं हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिए । उनले हर्ट विट एफ.एम. कुनै राजनितिक दलको ट्याग भिरेर अगाडि नबढेको र यदि केही समस्या परिआएको खण्डमा आवाज विहिनको आवाज लिएर अगाडि बढेका पत्रकारहरुको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
हर्ट विट एफ.एम.का स्टेशन म्यानेजर हरि घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम एफ.एम.का सहायक स्टेशन म्यानेजर हरि आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

