
२२ वैशाख, बुटवल ।
लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ ९ख० बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चिरहण गरेको र मुलुकलाई अस्थरतातर्फ धकेलेको उनले बताएका छन् । कपिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको विरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’
डाँगीले कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहने प्रतिवद्धता समेत जनाएका छन् ।आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।
सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाहीले पोखरेलको पक्षमा फर्किएका थिए । श्रीवास्तव मन्त्री समेत भइसके । तर मुख्यमन्त्री पोखरेलको संकट टरेको छैन । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छ । जबकी ८९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ ।