
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको छ । वडावासीको माग र युगको आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको वडा नं. ११ ले १ दिने शिविर मार्फत वडाका महिलाहरुलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ ।
वडा कार्यालयले आयोजित स्वास्थ्य स्वयंसेवीका प्रवद्र्धन र स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्तर्गत निःशुल्क गर्भवती चेकजाँच (भिडियो एक्स रे) र दन्तरोग चेकजाँच शिविर मार्फत विभिन्न स्वास्थ्य सुविधा उपलब्ध गराएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।
शिविर मार्फत १ सय भन्दा बढि गर्भवती महिलाहरुको निःशुल्क एक्स रे गरी ४ जनाको अप्रेसनका लागि रेफर गरिएको छ । त्यस्तै ५० जना भन्दा बढिको दाँत, मुख तथा गीजाको चेक जाँच गरि २० जनाको निःशुल्क रुपमा दाँत निकालिएको छ । साथै वडाका १८ जना महिला स्वास्थ्य स्वयंसेवीकाको निःशुल्क स्वास्थ्य विमा गर्नुका साथै १ दिने क्षमता विकास तालिम पनि सम्पन्न गरिएको छ ।
शिबिरमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. प्रशंसा गुरुङ, मेडिकल अधिकृत डा.गणेश क्षेत्री डा.अभिशेक श्रीवास्तव, डेन्टल अधिकृत डा. प्रतीक्षा पौडेल डा. रबिन्द्र मिश्रले सेवा दिनुभएको जनस्वास्थ्य निरीक्षक राजु सुनारीले बताए ।
कार्यक्रममा वडाध्यक्ष सोमनाथ अर्यालले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वडा सचेत रहेको बताउदै चालु आर्थिक बर्षको बजेट रु १ लाख ५० हजार बाट यो कार्यक्रम सम्पन्न गरिएको बताए ।
कार्यक्रममा हथौसा स्वास्थ्य चौकी प्रमुख राजु सुनारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्ण तथा वडाकार्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
वडाध्यक्ष अर्यालको अध्यक्षता, वडा सदस्य ईमकला केसी, वाजबुल लैन शाह, जगनारायण थारु, साबित्रा विकको विशिष्ट आतिथ्यता, विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधिहरु, वडावासीहरुको उपस्थिती रहेको कार्यक्रम हथौसा स्वास्थ्य चौकी प्रमुख राजु सुनारीको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

