
लुदअ, कपिलवस्तु
कोरोनाको तेश्रो भेरिएन्ट तीब्ररुपमा फैलिरहेको बेला कपिलवस्तु नगरपालिकाले भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स खरिद गरी ल्याएको छ । नगरपालिकाले जटील खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी ल्याएको हो । एम्बुलेन्स मंगलवार राति मात्र नगरपालिकामा आएको हो । नगरपालिकाले गत जेठमा नै एम्बुलेन्स खरिद गर्ने प्रकृयाअ अघि बढाएको थियो ।
कोराना र बिभिन्न प्रकृया नमिल्दा खरिद गर्न ढिलाई भएको नगरप्रमुख किरण सिंहले बताए । काठमाण्डौको प्राईम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुदै एम्बुलेन्स नगरपालिका पठाएको हो । एम्बुलेन्सको लागत ७३ लाखको हाराहारीमा रहेको खरिद समितिका सदस्य तथा नगरपालिकाका ईन्जीनीयर राजेश सेनीले बताए ।
एम्बुलेन्समा आईसियु, भेन्टीलेटर सहीत जटील खालका बिरामीलाई भित्रै उपचार गर्ने सेवा उपलब्ध रहेको उनले बताए । एम्बुलेन्समा जीपिएस सिस्टम समेत रहेको उनले बताए । भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै यो तेश्रो रहेको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले दाबी गरे ।
यस अघि बुटवलको लुम्बिनी प्रदेश अस्पताल र बाकेका भेरी अस्पतालमा मात्र यस्तो खोले एम्बुलेन्स रहेको उनले बताए । जिल्ला मै पहिलो पटक भेन्टीलेटर सहीतको एम्बुलेन्स आए पछि नगरबासी खुशी भएका छन ।