लुदअ भदौ २, काठमाण्डौ
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको आयोजनाका लागि आउँदो मङ्सिरभित्र ठेक्का आह्वान हुने भएको छ । एमसीसी कार्यान्वयन गर्ने नेपाली निकाय मिलिनियम च्यालेञ्ज अकान्ट नेपाल ९एमसीए० ले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि आउँदो नोभेम्बर अर्थात् मङ्सिरभित्र अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।
ठेक्का आह्वानका लागि सबै कागजात तयारी अवस्थामा रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो । ६ महिनाको अवधि राखेर ठेक्का आह्वान हुने, त्यसपछिको तीन महिनामा ठेकेदार छनोट गरेर आउँदो वर्ष अर्थात् २०८० सालको भदौदेखि एमसीसी अन्तगर्तका आयोजनाको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । काम सुरु भएको पाँच वर्षमा आयोजना सक्नैपर्ने कानुनी व्यवस्था रहेकाले पूर्वतयारी सम्पन्न भएपछि मात्रै पाँच वर्षे अवधिको गणना हुने उहाँले बताउनुभयो ।
अहिले आयोजनाका लागि धमाधम पूर्वतयारीका काम भइरहेका छन् । सबस्टेशन रहने ठाउँ नुवाकोटको रातामाटे, तनहुँको दमौली र रुपन्देहीको बुटबलमा जग्गा प्राप्तिको काम लगभग सकिएको छ । वातवरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिएको छ । यस्तै प्रभावित क्षेत्रअन्तर्गत पर्ने १० जिल्लाका ३० वटा पालिकामा सार्वजनिक सुनुवाइ, आयोजना प्रभावितको पुनर्स्थापनालगायतका पूर्वतयारीका काम भइरहेको विष्टले बताउनुभयो । विद्युत् प्रसारण लाइन क्षेत्रमा पर्ने दुई लाख रुख कटानको अनुमति प्राप्त गर्ने चरणमा रहेको पनि उहाँले बताउनुभयो ।
एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर गरेर ६३ करोड अमेरिकी डलरमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम हुन लागेको हो । काठमाण्डौको लप्सीफेँदीबाट सुरु भएको तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन नुवाकोटको रातामाटे पुग्नेछ । त्यहाँबाट एउटा लाइन हेटौँडा र अर्को दमौली हुँदै बुटवल पुग्नेछ । प्रसारण लाइन र सबस्टेशनमा तामाकोसी, सुनकोसी, भोटेकोसी, त्रिशूली, मर्स्याङ्दी र कालीगण्डकी नदी बेसिनका कैयौँ आयोजनाको बिजुली जोडिनेछ । यो लाइनले तीन हजार मेगावाट बिजुली बोक्नेछ । बुटवल पुगेको लाइनलाई भारतको गोखरपुरसम्म पुर्याउनका लागि नेपाल र भारतले संयुक्त कम्पनी बनाएर न्यु बुटवल–गोरखपुर प्रसारण लाइन बनाउँदैछन् ।
यस्तै सडक स्तरोन्नतितर्फ दाङ र कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको सीमाना शिवखोलासम्मको ७७ किलोमिटर सडकलाई अत्याधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिनेछ । यो प्रविधि नेपालमै पहिलो हुने एमसीए नेपालले जनाएको छ ।