धानमा फड्के किराको प्रकोप र खडेरीले किसान चिन्तित

[sharethis-inline-buttons]

 

, तुलसीपुर
यस वर्ष पर्‍याप्त मात्रामा वर्षात नहुँदा धान उत्पादन घट्ने पक्कापक्की जस्तै छ । केही मात्रामा वर्षात भएपछि धानखेती गरिएता पनि लगाइएको धानमा फट्के किराको प्रकोपले किसानलाई सास्ती भोग्नु परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ८ कट्कुइयाका कृषकले लगाएको धानबालीमा फट्के किरा लागेपछि हैरानी व्यहोर्नु परेको छ ।

यो खडरीमा बल्लतल्ल पानीको जोहो गरेर लगाएको धानमा फड्के किराको प्रकोप देखा परेपछि त्यहाँका कृषकहरु चिन्तित भएका हुन् । ‘यसवर्ष पानी नपरेकोले बल्लबल्ल धान लगाएका थियौं । धान उत्पादन घटे पनि वर्षभरी खानका लागि जोहो हुन्छ की भन्ने समयमा फेरी किरा लागेर हामीलाई यसवर्ष भोकमरी खेप्नु पर्छकि भन्ने डर छ’- तुलसीपुर उपमहानगरपालिका ८ निवासी तुलसा बस्नेतले भनिन् ।

समयमा वर्षात नभएकोले धान रोपाइ पनि ढिलाइ गरेको बताउदै उनले अब लगाएको धानबालीमा किरा लागेपछि के गरी बचाउने चिन्ताले दिनरात पिरोलेको बताइन् । ‘मानो रोपेर मुरी फलाउने बेला पानी परेन्, त्यसमाथि फेरी धानमा किरा लागेका छन् । के खाने हो ? किनेर खानलाई पैसा छैन । अन्य आयआर्जनको स्रोत छैन उनले भनिन् ।’

त्यस्तै डिल्ली वलीको दुखेसो पनि तुलसाको जस्तै छ । उनले लगाएको धानबालीमा पनि फड्के किराको प्रकोप देखिएको छ । पसाउनै लागेको धानमा किरा लागेर सखाप भएको उनले बताए । यो खडेरीको मौसममा जसोतसो पानीको जोहो गरेर लगाएको धानबालीमा फड्के किराको प्रकोप देखा परेपछि आफुहरु निकै दुखी भएको बताए ।

पानी समयमा परेको भए सायद यो किराको प्रकोपले सताउने थिएन कि उनले भने । किट विशेषज्ञ डा. नरेश डाँगीले किराको पहिचान गरेर बिषादी प्रयोग गरेपछि अहिले धान हरियो हुन थालेको उनले बताए । विषादी प्रयोग गरेपछि धानबालीमा केही सुधार आउछ कि भन्ने आशा पलाएको उनको भनाइ छ ।

दिर्घकालिन योजना बनाउछौं : अध्यक्ष वली
जिल्लाका विभिन्न क्षेत्रमा लगाएका धानबालीमा किराको प्रकोप देखा परेका छन् । तर तुलसीपुर उपमहानगरपालिका- ८ को कट्कुइया र खैरेनी क्षेत्रमा बढी देखा परेको ८ नम्बरका वडा अध्यक्ष धर्म वलीले जानकारी दिए । कृषकहरुले लगाएको धानबालीमा किराको प्रकोप देखिएको गुनासो धेरै आएपछि उपमहानगरपालिकाको कृषि शाखासंगको समन्वयमा कृषिविज्ञ ल्याएर किराको पहिचान गरेको अध्यक्ष वलीको भनाइ छ ।

किराको पहिचान गरी धानबालीको उपचार प्रक्रिया शुरु गरिसकेको उनले बताए । उपचार शुरु गरेपछि धानबालीमा लागेको किराहरु मरेको उनले बताए । करिब २५ विघा क्षेत्रफलमा लगाएको धानबालीमा फड्के किराको प्रकोप देखा परेको उनले बताए । साथै आगामी दिनमा कृषकले यस्ता खालका प्रकोपबाट आजित हुन नपरोस भनेर आगामी वर्षका लागि दिर्घकालिन योजना बनाउने समेत अध्यक्ष वलीले बताए ।

कृषकलाई कृषिविज्ञ डा. डाँगीको सुझाब
तुलसीपुरमा कृषकले लगाएको धानबालीमा देखा परेको प्रकोप खैरो फड्के कीराको प्रकोप भएको राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, नार्कका वैज्ञानिक डा. नरेश डाँगीले पुष्टि गरेका छन् । यही भदौ ५ गते आइतबार किसानकै खेतबारीमा पुगेर उनले परीक्षण गरेका थिए । कृषिविज्ञ डा. डाँगीले कृषकलाई रोगको पहिचान गरेर उपचार विधि पनि सिकाएका छन् । उनले कृषकलाई विषादी प्रयोग गर्ने तरीका, रोगको पहिचान कसरी गर्ने लगायतका बारेमा जानकारी दिएका थिए । उनका अनुसार दाङमा फड्के किराको प्रकोप पहिलो पटक वि.सं. २०७५ सालमा देखा परेको थियो ।

फड्के कीरा के हुन ?
नेपालमा धानबालीमा खैरो फड्के [Nilaparvatalugens (Stål) (Hemiptera: Delphacidae)] र सेतो पिठ्यु भएको फड्के [White-backed planthopperSogatellafurcifera (Horvath) (Hemiptera: Delphacidae)] ले धानबालीलाई क्षति गर्ने प्रमुख शत्रु कीरा हो । यी फड्के कीराहरुले नेपाल लगायत दक्षिण तथा पुर्वी एसिया महादेशमा बर्षेनि उलेख्य मात्रामा धानबालीमा क्षति गर्ने गर्दछ । धान यस कीराको प्रमुख आश्रय दातावाली हो । यसका अलावा जगंली धानहरुमा पनि यसले आफ्नो जिबनचक्र पुरा गर्ने गर्दछ ।

 

यस कीराले गर्दा धानमा हुने क्षति धानको जात, धानको वृद्धिको अवस्था र यस कीराको संख्यामा मुख्य रुपमा निभर हुने गर्दछ । यस कीराको क्षतिले धानको गाँज, उचाई र दाना लाग्ने क्षमतामा ह्रास ल्याउने गर्दछ । सुख्खा क्षेत्रमा लगाएको धानमा यस कीराले गाँज लाग्ने समयदेखी फुल फुल्ने अवस्थामा बढी क्षति गर्ने गर्दछ । यस कीराको क्षति धानको दुधे वा पाक्नु भन्दा पहिलेको अवस्थामा भएका बोटहरुमा क्रमिक रुपमा पातको टुप्पोबाट पहेलो हुदै सुक्खा भई बोट ओईलाएर मर्ने गर्दछ ।

खैरो फड्के कीराको जिवनचक्र र पहिचान
खैरो फड्के कीराको फुल, बच्चा र वयस्क गरी तीन अवस्था हुन्छन् । यस कीराको अण्डाबाट बच्चा निस्की बच्चा अवस्थाले पाँच पटक काँचुली फेरी वयस्क अवस्थामा जाने गर्दछ । यसको वयस्कगर्मी मौसममा १० देखी २० दिनसम्म बाच्छ भने जाडो मौसममा ३० देखी ५० दिनसम्म बाच्छ । यसको वयस्कले पातकको सिथमा समुहमा ३०० देखी ३५० वटासम्म फुल पार्दछन् । फुलपारेको ४ देखी ८ दिनमा अण्डाबाट बच्चा निस्कन्छ । यसको बच्चाले प्रत्येक ३ देखी ४ दिनमा काचुली फेर्दछ । यसको बच्चा अवस्थामा ५ पटक काचुली फेरिन्छ र बच्चा अवस्था २ देखी ३ हप्तामा पुरा हुन्छ । यसको अधिकतम वृद्धी विकास २८० से ३०० से.तापक्रममा हुन्छ । यस कीरामा वयस्कहरु छोटो पखेटा र लामो पखेटा भएका दुई अवस्थामा पाईने गर्दछन् ।

नेपालमा फड्के कीराको प्रकोप
खैरो फड्के किरा नेपालमा सन् १९७७ मा झापाको चन्द्रडाँगीमा पहिलो पटक मध्य अक्टोबरमा लगभग २०० कीरा प्रतिबोट देखिएको थियो । यसको प्रकोप दाङमा २०७५ भाद्र—असोज (2020 Sep-Oct)मा देखा परेको थियो ।धानबालीमा गाज हाल्ने बेलामा किसानहरुले गवारो कीराको नियन्त्रण गर्नको लागि प्रयोग हुने सेन्थेटिक पाईरेथ्रोरईड Synthetic pyrethroids बिषादीहरुले यस कीराको प्राकृतिक शत्रु कीराहरुलाई बढि मात्रामा क्षति गर्ने हुदा यस किराको प्रकोप बढ्न गएको विभिन्न अनुसन्धानले देखाएको छ ।

यसका साथै यस कीराको प्रकोप देखिने क्षेत्रहरुमा पाईने यस कीराको बैकल्पिक आश्रय दाताझारहरुकोे व्यवस्थापन नगर्दा यस कीराको प्रकोप वातावरणीय अनुकुलताले गर्दा सालिन्दा देखिने गर्दछ । खेतमा सिंचाई कुलेसोे र पानीको निकासको व्यवस्थापन नहुनु, झारको प्रकोप कम गर्न किसानहरुले धानको विरुवादेखि विरुवाको दुरी कम गरी रोप्नु आदि कारणले यस कीराको प्रकोप बढ्ने गरेको पाईएको छ ।

फड्के किराको क्षतिले धानको बोटमा गर्ने क्षतिको प्रकार
खैरो फड्के किराको बच्चा र वयस्क अवस्थाले धानबालीमा क्षति गर्ने गर्दछन् । यस कीराले धानको बोटको तल्लो भागमा ((फेदमा) बसी डाँठमा बसेर विरुवाको रस चुसेर क्षति गर्ने गर्दछन् । यसका साथै यो कीराले धानबालीको पातले बेरेको डाँठमा फुलपार्नाले बोटमा प्रवाह हुने खाना र पानीलाई अवरुद्ध गरी बोटहरु मर्ने गर्दछन् ।

कीराहरुको संख्या बढी भएको अवस्थामा स–साना चाक्लामा धानको पात पहेलो देखिन सुरु गरेको २-३ दिनभित्रै बोटहरु मर्ने लक्षण देखा पर्दछ । यस्तो लक्षण देखिएर मरेको धानलाई होपर बर्न भनेर चिनिन्छ । यस कीराले धानमा दुई वटा भाइरसहरु (राईस रेग्ड स्टन्ट र राईस ग्रासी स्टन्ट) सादर्छ । तर हालसम्म नेपालमा धानमा यी दुई जातका भाईरस देखा परेको छैनन्

किरा नियन्त्रणका लागि विषादीको प्रयोग कुन बेला गर्ने
यस कीरालाई धान रोपेको ३० दिन पछि हरेक हप्ता कम्तीमा एक दिन एक पटक धान खेतको निरिक्षण गर्ने र यसरी हेर्दा १ वटा फड्के कीरा प्रति गाँज धानले गाँज हाल्दा देखी धान पोटाउदा सम्म र १० वटा फड्के कीरा प्रति गाँज धान पोटाउन सुरु गरे पछिको अवस्थामा देखिएमा विषादी प्रयोग गर्नु पर्दछ ।

कीराको व्यवस्थापन कसरी गर्ने
– कीराको प्रकोप देखिन थाले पछि एक हप्ताकोे अन्तरमा पानी सुकाई दिने ।
– विरुवालाई आवस्यक पर्ने रसायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने ।
– कीराको प्रकोप बढ्न लागे पछि सम्पर्क र दैहिक गुण भएका विषादीहरुको १० दिनको अन्तरमा आलोपालो गरी प्रयोग गर्नु पर्दछ । विषादी छनोट गर्दा प्रभाबकारी, नेपालमा दर्ता भएका, प्राकृतिक मित्रुजिबहरुलाई कम घातक हुने खालका बिषादी छनोट गर्नु पर्दछ । विषादीको प्रयोग गर्दा कीट विज्ञ तथा वाली संरक्षण अधिकृतको सल्लाहमा मात्र प्रयोग गर्नु पर्दछ ।
– गाँज लाग्ने बेलामा कीराहरु देखिएमा प्रति कठ्ठा सिफारीस गरिएको दानादार विषादी जस्तैः फिप्रोनिल ०.३% जि.आर वा कार्टापहाइड्र क्लोराइड ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका दरले खेतमा छिप छिपे पानी भएको अवस्थामा छर्ने ।
– रसायनिक विषादीहरु जस्तै इमिडाक्लोपिड १७.८ एस.सी ४ देखी ८ मि.ली वा थायोमिथोक्जाम २५% एस.जी. ५ ग्राम वा इमामेक्टिन बेनज्वाइट ५% डब्लुडिजी ५ ग्राम वा निटेनपाइराम १०% २५ देखी ३० मि.ली. प्रति १६ लिटर पानीमा मिसाएर विरुवाको तल्लो भागमा पर्ने गरि छर्ने ।


प्रकाशित : २०७९ भाद्र ८, बुधबार १६:५१