
हरि आचार्य, कपिलवस्तु
सीपमुलक तालिमहरु निरन्तर प्रदान गर्दै आईरहेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा फेरी अर्को महत्वपुर्ण सीप विकास तालिम प्रदान गरिने भएको छ । बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालयको सहजीकरण तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि.को आयोजनामा उक्त मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिमको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सीप विकास तालिमले समाजमा हुने अनेक हिंसाको न्युनिकरण गर्ने बताउनुभयो । अर्यालले नगरपालिकाले सीप विकासका लागि धेरै बजेट खर्च गरिसकेकाले तालिमका लागि मात्र तालिम ललिन आग्रह गर्दै सिकेको सीपलाई लागु गरि उद्यमी वा स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुमा सीप विकास भयो भने महिला हिंसा समेत न्युनिकरण हुने भन्दै यो सीप घरमै बसेर पनि गर्न सकिने बताउनुभयो ।
नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले तालिमबाट सीकेको सीपले परिवारको आर्थिक स्तरमा सहयोग पुग्ने भएकाले सक्रियता पुर्वक तालिम लिन महिलाहरुलाई आग्रह गर्नुभयो । उहाँलेसीप विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम तथा बजेट ल्याएको समेत बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष बिष्णु पौडेलले यो तालिमको लागि वडा नं. २ लाई छनौट गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले सीप विकास तालिमको पनि महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पौडेलले वडाले विभिन्न तालिम प्रदान गरिरहेको र यो तालिम पनि प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । १ महिना सम्म यो तालिमको आफु लगायत जनप्रतिनिधिले पनि निरन्तर अनुगमन गर्ने भएकाले सक्रियता पुर्वक तालिम लिन आग्रह गर्नुभयो ।
१ महिने तालिमको प्रशिक्षकको रुपमा कमला ढकाल रहनुभएको छ ।
बाणगंगा नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्त, ओम राजश्री मल्टी एग्रो प्रा.लि.का अध्यक्ष युवराज गैरे, कार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतार लगायतको आतिथ्यता रहेको कार्यक्रम उद्यमी सीता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।