रक्तदान पवित्र दान हो : सांसद पन्थी

[sharethis-inline-buttons]

कृष्ण पौडेल
( विजयनगर )
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा शनिबार भएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कपिलवस्तुको आयोजना, रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग र विजयनगर गाउँपालिकाको सहयोगमा रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला अध्यक्ष यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औँ स्थापना दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा सांसद बिष्णु पन्थीले रक्तदान गर्नु पनि आफैमा फाइदाजनक भएको बताएका छन् । उनले खासगरी मुटुलाई स्वस्थ बनाई राख्न महत्वपूणर् सहयोग गर्ने गरेको बताउँदै मुटुको ढुकढुकी कायम राख्न रक्तदान गर्न आवश्यक रहेको बताए । एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्ने सांसद पन्थीले बताए । उनले कसैको जीवन बचाउन रक्तदान गर्नु नै सबै भन्दा ठूलो धर्म भएको बताउँदै आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएको  भनाई छ ।

यसैगरी प्रदेश सांसद अर्जुन कुमार केसीले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताएका छन् । उनले रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने भएकोले रक्तदान गर्न आवश्यक रहेको बताए । आधुनिक विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला नपरेको बताउँदै ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन समस्या भएको उनले बताए । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको सांसद केसीले दाबी गरे ।

यसैगरी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रगतको अभाव हुन नदिन गाउँपालिकाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले विजयनगर गाउँपालिकाले यहाँका नागरिकका लागि निःशुल्क रगतको व्यवस्थासमेत गरेको जनाए । अध्यक्ष थापाले रगतको मागलाई परिपूर्ति गर्न विभिन्न संघसंस्थाले पनि रक्तदान कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताए । रक्तदान परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम रक्तदान भएको बताउँदै रक्तदान ‘महादान’ भएको उनको भनाई छ ।


प्रकाशित : २०८० जेष्ठ २७, शनिबार १७:४२