कपिलवस्तुका गायक भण्डारीको लय तथा शब्दमा विजयनगरको मौलिक गीत सार्वजनिक

[sharethis-inline-buttons]

लुदअ, विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नै मौलिक गीत निर्माण गरेको छ । गाउँपालिकाको पहिचान बढाउने उद्धेश्यले तयार पारिएको गीत विमोचन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकका अवसरमा गाउँपालिकाले निर्माण गरेको आफ्नै मौलिक गीतको अडियो सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको हातबाट गीत बजाएर गाउँसभामा सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु, भाषा सँस्कृति, उर्वरभूमी लगायतका विषयवस्तुहरु गीतमा समेट्ने प्रयास गरिएको बताए । उनले भिडियो बनाउने काम सुरु भएको र भिडियो सम्पन्न पश्चात् भिडियोसहित सामाजिक सञ्जालनमा सार्वजनिक गरिने उनले बताए ।

गीतको लय तथा शब्द संकलन लोक तथा आधुनिक गायक दिपक भण्डारीले गरेका हुन् भने गीतमा गायक भण्डारीको साथमा लोक तथा दोहोरी गायिका मञ्जु भट्टराईले स्वर दिएकी छन् । गायक दिपक भण्डारी लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका प्रथम उपाध्यक्ष समेत रहेका छन् ।

विजयनगर गाउँपालिकामा नै रहेर राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाएका भण्डारीले विजयनगर गाउँपालिकालाई देशैभरि चिनाउने उद्धेश्यका साथ गीत तयार गरेको बताए ।

 

                     गौतमबुद्ध सन्देश डट कमबाट साभार


प्रकाशित : २०८० असार २९, शुक्रबार १९:५२