
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले ‘पुस्तक रहित सीपयुक्त शुक्रवार’ कार्यक्रमको शुरुवात गरेको छ ।
विभिन्न क्रियाकलाप विद्यालयको आन्तरिक पाठ्यक्रममा समावेश गरि प्रत्येक शुक्रवार विद्यार्थीहरुलाई ‘पुस्तक रहित सीपयुक्त शुक्रवार’ को क्रियाकलापमा समावेश गराईने विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । जस अन्तर्गत आज पहिलो दिन कथा लेखन तथा वाचन, क्वीज, हिज्जे, डिक्टेशन, उत्प्रेरित कक्षा लगायतका क्रियाकलाप गरिएको प्राचार्य पाण्डेले लुम्बिनी दर्पणलाई बताउनुभयो ।
विद्यार्थीहरुले भविष्यका लागि लिएको लक्ष्य प्राप्तिका निम्ति आधारशिला तयार गर्ने, सृजनशिल तथा सीपयुक्त सभ्य नागरिक उत्पादन गर्ने, अनुसन्धानका क्षेत्रमा चाहिने आधारभुत ज्ञानका साथै अन्वेषणात्मक कार्यमा अग्रसर गराउने, बोल्ने बानीको विकाससंगै नेतृत्व विकास गरि असल नागरिक तयार गर्ने उद्देश्यका साथ ‘पुस्तक रहित सीपयुक्त शुक्रवार’ सुरु गरिएको विद्यालयका प्रबन्ध निर्देशक रोमकान्त घिमिरेले बताउनुभयो ।

