लुदस, बुटवल
बुटवल उपमहानरपालिका–१० मा अवस्थित सामुदायिक विद्यालय कालिका मानविज्ञान माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले एकै पटक एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयबाट विभिन्न क्षेत्रको प्रवेश परीक्षामा सहभागी भई ६४ जना विद्यार्थीले स्नातक तह अन्तर्गतका विभिन्न सङ्कायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।
जसमध्ये एमबिबिएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन पूरा गरी नेपाल सरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुला प्रतिस्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबिबिएसतर्फ १५ जनाले नाम निकाल्ने कालिका नेपालकै पहिलो स्कुल भएको दाबी गर्नुभयो ।
उहाँले विद्यार्थीको कडा मेहनतका साथै विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नतिजा राम्रो आएको बताउँदै अहिलेको मेहनतलाई थप परिस्कृत बनाउँदै जान विद्यार्थीलाई आग्रह गर्नुभयो ।
विद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीमध्ये १५ जनाले एमबिबिएसको परीक्षामा पूर्ण निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।