
लुदस, तौलिहवा
जिल्लाको सदरमुकाम तौलिहवाको केन्द्रमा रहेको शैक्षिक संस्था कपिलवस्तु बहुमुखी क्याम्पसको यही बैशाख २७ गते हुने क्याम्पस सञ्चालन समिति अध्यक्ष पदको निर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नं. १ मा अवस्थित सनलाइट इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक सच्चिदानन्द त्रिपाठीले उम्मेदवारी दिने घोषणा गरेका छन्
।
त्रिपाठीले हिजो सम्पन्न क्याम्पसको बन्द सत्रमा आफूले औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रिने निर्णय सार्वजनिक गरका हुन् । त्रिपाठी करिब दुई दशकदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी शिक्षक तथा शैक्षिक संस्थाका अगुवा हुन। उनले आफू गैरराजनीतिक, स्वच्छ छविको उम्मेदवारको रूपमा अगाडि आएको स्पष्ट पारेका छन् ।
बन्द सत्रमा बोल्दै त्रिपाठीले भने, “शैक्षिक संस्था राजनीति गर्ने ठाउँ होइन, यसलाई दक्ष व्यवस्थापनले अघि बढाउनु पर्छ।” उनले आफ्नो विद्यालयको उदाहरण प्रस्तुत गर्दै, क्याम्पसका सदस्यहरूलाई व्यवस्थापनको नमुना अवलोकन गर्न विद्यालयमा निमन्त्रणा समेत गरे ।
अध्यक्षमा निर्वाचित भएमा त्रिपाठीले क्याम्पसमा प्राविधिक धारको शिक्षा सुरु गर्ने र स्थानीय विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी र पदाधिकारीहरूलाई नियमित तलब उपलब्ध गराउने व्यवस्था मिलाउने प्रयास गर्ने पनि बताए ।
उनले महँगो शुल्क तिरेर दलित, आदिवासी र गरिब परिवारका किशोर–किशोरीहरू अध्ययन गर्न बाध्य हुनु दुःखद भएको उल्लेख गर्दै, न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने र अन्य जिल्लाका विद्यार्थीलाई पनि तौलिहवा ल्याउने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।