जेनजी आन्दोलनकारीहरूको मागअनुसार पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलहरू प्रारम्भिक रूपमा सहमत भए पनि भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे उच्चस्तरीय छानबिन गर्न अस्वीकार गरेपछि प्रक्रिया अवरुद्ध भएको छ।
शीतलनिवासमा उपस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमार्फत सम्पर्क गरिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, ३४ जनाको मृत्यु र भ्रष्टाचार प्रकरण छानबिन गर्न तयार नभएको स्रोतले जनाएको छ।
तीन दलका नेताहरूले यस्तो आयोग बनेमा दलहरूमाथि जनआक्रोश बढ्ने भन्दै अस्वीकृति जनाएपछि प्रस्तावित प्रधानमन्त्री कार्कीले स्पष्ट शब्दमा भनिन्– “हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी मलाई चाहिँदैन।”




















