ऋषिराम दाहाल , पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश कार्यसमितिद्वारा आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक हजार थान माक्स र दश लिटर सेनिटाईजर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बोल्दै संगीतकर्मीसंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतमले कोरोनाको यो बिषम परिस्थितिमा अग्रपंक्तिमा रहेर खटिएका प्रहरीहरु सुरक्षित भए आम नागरिक सुरक्षित हुने भन्दै प्रहरीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेर साथै कोभीड १९ को लडाईमा संगीतकर्मीहरु पनि सँगै छौ भन्ने सन्देश दिएको बताए ।
कार्यसमितिका पदाधिकारीहरुद्वारा नै रकम संकलन गरी सामाग्री खरिद गरेको बताउदै आगामी दिनमा संगीतकर्मीहरुलाई पर्ने अप्ठयारोमा संस्थाले सक्दो सहयोग गर्ने बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले संगीतकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै गण्डकी प्रदेश प्रतिआभार ब्यक्त गरे साथै गीतसंगीतका माध्यमबाट सामाजिक सञ्जाल मार्फत भएपनि समाजमा कोरोना सम्बन्धि जनचेतना फैलाएर सहयोग गर्न पनि आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय गैह्रापाटनको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव उपनिरिक्षक तथा प्रबक्ता सुबास हमाल ,प्रहरी निरिक्षक खगेन्द्रअधिकारी लगायतका अन्य प्रहरी अधिकारीहरुको बाक्लो उपस्थित थियो भने संघका पदाधिकारीहरुको पनि उल्लेखिय उपस्थिति रहेको थियो। कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षता र सचिव बालकृष्ण वाग्लको संचालनमा सम्पन्न भएको थियो ।


















