हरि शर्मा
परासी, २५ बैशाख ः
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले शनिबार जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरी अक्सिजन शिलिण्डर नियन्त्रणमा लिएको छ ।
जिल्लामा संक्रमितको संख्या बढ्दै गएकोले अक्सिजनको कमी हुन नदिन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्वको टोलीले जिल्लाका ९ वटा उद्योगहरुमा अनुगमन गरी शिलिण्डर नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । नियन्त्रणमा लिइएका शिलिण्डरमा ६० वटा भरेका र केही नभरेका छन् । नियन्त्रणमा लिइएका उद्योगहरुमध्ये सबैभन्दा बढी शिलिण्डर गोयल स्पात रामग्राम–१० बाट ९ वटा भरी र ६४ वटा खाली छन् । त्यसैगरी शिलिण्डर नियन्त्रणमा लिइएका उद्योगहहरुमा एमएस स्टिल, सिद्धि लक्ष्मी स्टिल, टेन स्टिल, अमग्रहरी जनरल स्टोर्स, बुटवल सिमेन्ट, सर्वोत्तम सिमेण्ट, तिरुपति बालाजी र काठमाण्डौं स्टिल रहेका छन् । जिल्लामा करिब २० वटा ठूलो उद्योगहरु छन् । अहिले उद्योगलाई भन्दा पनि मानव जीवनलाई बचाउनु प्रमुख रहेकाले अन्य उद्योगहरुलाई पनि शिलिण्डर बुझाएर सहयोग गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माझीले बताए । शिलिण्डर नबुझाए प्रशासनले छापा मारेर बरामद गरिने उनले जानकारी दिए । जिल्लामा अक्सिजन प्लाण्ट नभएकाले रुपन्देही र चितवन लगेर शिलिण्डर भर्नुपर्ने बाध्यता छ ।
यसैबीच शनिबार मात्र जिल्लाका ४ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकरी दिए । योसँगै बैशाखको पहिलो सातादेखि शनिबारसम्म मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ९ सय नाघेको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।


















