१ जेठ
रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजिन परीक्षण भइरहेको छ । तर मालबाहक सवारी साधनबाट आउने कसैको परीक्षण हुँदैन । त्यस्ता सवारीसाधन माल ढुवानीका लागि मुलुका विभिन्न सहरमा निर्बाध गुड्छन् । यसले कोरोना भाइरसको संक्रमणको भय झन् बढाएको छ । भारतबाट आउने कुनै मालबाहक सवारीसाधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा पाँच देखि १५ दिन समय लाग्छ । यो बीचमा सवारीसाधनका चालक सहचालकको कैयौँ ठाउँमा सामाजिक घुलमिल हुन्छ । भारतबाट आउने मानिसको जाँच गर्न नाकामा राखिएको हेल्थ डेक्सले मालबाहक सवारीसाधनमा आउनेको परिक्षण गदैन् । स्थानिय प्रशासनले क्वारेण्टिनका रुपमा मालबाहक सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । तर भन्सार कार्यालयले त्यो पालना गरेको छैन् ।
भाइरस संक्रमण नियन्त्रणमा गरेकोे हेलचक्य्राइँका कारण भन्सारका १९ जना कर्मचारी संक्रमित भएका छन् । संक्रमित कर्मचारी बढ्दै जान थालेपछि प्रज्ञापनपत्र पास गर्न जनशक्ति अभाव देखिएको भैरहवा भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । तर पनि भाइरस नियन्त्रणकालागि केही प्रयास भएको छैन् ।
लकडाउनले सामान ढुवानी गर्न समस्या भएको गाडी चालकहरुको गुनासो छ । बजार बन्द हुँदा खानपिनमा कठिनाई भोगेको उनीहरुले बताए ।
जाँच बिना नेपाल प्रवेश गरिरहेका चालकहरु संक्रमण मुक्त हुन सक्दैनन् । महामारीको अवस्थामा मुख्य भन्सार नाकाहरुबाट अत्यावश्यक सामानमात्र ढुवानी हुनुपर्छ । बाँकी सबैको परिक्षणपछि मात्रै विभिन्न जिल्लाहरुमा ढुवानीको अनुमती दिए भाइरस संक्रमण कम हुने छ ।




















