जेठ २६,
कोभिडविरुद्धको खोप लगाउने क्रममा विवाद भएपछि रुपन्देहीको चारवटा पालिकामा आज खोप कार्यक्रम स्थगित हुन पुगेको छ । रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा हिजो र आज चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । सुरुको दिनमै खोप लगाउन सुरु गर्दा लक्षित उमेरभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउपालिका र मर्चवारी गाउँपालिकामा आजको खोप कार्यक्रम स्थगित हुन पुगेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताउनुभयो । ‘रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले आवश्यकताभन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउँमा लक्षित उमेरभन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको बताउनुभयो ।




















