असार ७
नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको हो । गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले देशभरबाट ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो । ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले यो म्युटेसन सबै उमेर समूहलाई संक्रामक रहेकोले बताए । यसअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यहि म्युटेसन हो । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसका ३ भेरियन्ट (अल्फा,डेल्टा र कप्पा) पुष्टि भएको छ । कोरोना भाईरसले नयाँ नयाँ स्वरुप परिवर्तन गर्दै गइरहेको र नयाँ म्युटेसन अझै संक्रामक भएको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार बनी संक्रमण रोक्न मन्त्रालयले अपिल गरेको छ ।




















