बुटवल ,३० असार
बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषणयुुक्त खाद्य सामग्री वितरण गरेको छ । महामारी विरुद्धको अभियानमा सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पुर्याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम अन्तर्गतमहिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख सुवेदीको भनाई छ ।
बुटवलले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्यकर्मीहरु लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आएकी छन् । नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाका जानकारी, ल्याबसहितको निःशुल्क स्वास्थ्य चेकजाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताइन ।
नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करिब दुई सय ३० जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ । महानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश गिरीलगायतले स्वास्थ्य चेकजाँच र आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसंगै फिल्डमा खटिएका थिए ।बुद्धनगरस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा हालै संक्षिप्त कार्यक्रमका बीच उपप्रमुख आचार्यले ६० जनालाई पोषण सामग्री प्रदान गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो ।




















