गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी सार्वजनिक पदमा बसेको कुनै व्यक्ति विरुद्ध उजुरी परेमा छानविन गर्ने अख्तियारको आफ्नै कार्यविधि छ । उसले शुरुमा तलबको गणना गर्छ । र त्यसमा ३० प्रतिशत जीवन निर्वाहका क्रममा खर्च भएको भनी वचतमा गणना गर्न दिँदैन ।
व्यवहारमा सम्भव नभए पनि अख्तियारले कुल तलबको ७० प्रतिशत बचत भएको अनुमान गरी हिसाब गणना गर्छ । त्यसैले गैरकानूनी सम्पत्ति आर्जन गर्नेहरुले बढी मूल्यमा जग्गा किनेपनि मालपोतमा भने कम ‘थैली’ देखाउने गर्छन् ।
पूर्वन्यायाधीश वस्ती मालपोतमा नाममात्रैको कारोबार अंक देखाएर कर छल्ने परिपाटी भएकाले जग्गा खरीदमा लिखतभन्दा बढी खर्च हुने बताउँछन् । ‘अहिले लिखतलाई नै मान्यता दिने चलन छ । तर यथार्थमा बढीको कारोबार भेटियो भने त्यो नै आधिकारिक मानिन्छ’ त्यतिबेला अख्तियारका कानूनी सल्लाहकार रहेका वस्ती भन्छन्, ‘स्रोत खोज्दा त्यतिबेलाको मूल्यांकनलाई आधार मानिए पनि मुद्दा चलाउनुपर्ने अवस्था आएमा वास्तविक मूल्य गणना गरिन्छ ।’
उदाहरणका लागि जबराले २०६५/०६६ सालमा खरीद गरेको जग्गाको थैली मूल्य ३ करोड ८१ लाख रुपैयाँ छ । सम्पत्ति छानबिन भयो भने त्यतिबेला उनले ३ करोड ८१ लाख रुपैयाँ खर्चेर जग्गा किन्नसक्ने हैसियत थियो कि थिएन भन्ने हेरिन्छ ।
तर उनले अस्वभाविक आर्जन गरेको भेटिएमा २५ आना जग्गाको त्यतिबेलाको मूल्य होइन, अहिलेको बजारभाउ अनुसार अख्तियारले विगो मागदावी गर्छ ।
ठमेलको जग्गा प्रधानन्यायाधीश जबराको परिवारले ४० करोड रुपैयाँमा बिक्री गर्ने भनी केही व्यक्तिहरुसँग छलफल गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । अख्तियारको एक अनुसन्धान अधिकृतका अनुसार, भाटभटेनीमा रहेको करिव २४ आना जग्गा मुख्य सडकसँगै जोडिएकाले निकै मूल्यवान छ । कम्तीमा पनि ५० करोड रुपैयाँमा त्यसको सहजै कारोबार हुने जानकारहरु बताउँछन् । त्यसबाहेक धुम्बाराहीको जग्गाको समेत मूल्य जोडेर विभागमा एक अर्ब रुपैयाँ हाराहारीको सम्पत्ति जोडेको भनी उजुरी परेको हो ।
हामीले जबराको यो विवरणवारे अख्तियारको सम्पत्ति महाशाखा र गैरकानूनी सम्पत्ति आर्जनको फाइल अनुसन्धान गरेका तीन कर्मचारीहरुसँग बुझ्यौं । तीनैजनाले एक करोडको आम्दानीबाट त्यसको करिव १०० गुणा बढीको बजारभाउ पर्ने सम्पत्ति जोड्नु अत्यन्त अस्वभाविक हुने बताए ।
‘१२ करोडको मालपोत थैली देखाइएको छ भने, त्यो कम्तीमा पनि एक अर्बको जग्गा हो’ अख्तियारमा बसिसकेका अवकाशप्राप्त एक प्रहरी अधिकारीले भने, ‘तलबबाट मात्रै यसरी अस्वभाविक रुपमा सम्पत्ति जोड्न सम्भव नै हुदैन ।’






















