✍️ सृजना पोख्रेल
घरको चुलो निभ्न नदिन,
आमाको आँखा रसाउन नदिन,
बुबाको थाकेको काँध सम्हाल्न,
परिवारका सपना सार्थक पार्न
मान्छे बिदेशिन्छ,
रहरले होइन, बाध्यताले ।
कसलाई पो मन लाग्छ र
आफ्नै गाउँको माटो छोड्न ?
आफ्नै आँगनको जून छोडेर
परदेशको एक्लो रात रोज्न ?
तर पेटको आगो ठूलो हुन्छ,
त्यसैले त ऊ
आँसु लुकाएर हाँस्न सिक्छ ।
विदेशमा पैसा फल्दैन,
पसिनाले उम्रिन्छ ।
दिनभरि दुखेका हातहरूले
राति परिवार सम्झेर रुन्छन् ।
तर फोनमा सधैं भन्छन्—
“म यहाँ ठीकै छु नि…”
आमाको बिरामी खबर आउँदा,
छोराको पहिलो पाइला छुट्दा,
परिवारको आँखा ओभानो हुँदा,
ऊ भित्रभित्रै भाँचिन्छे ।
तर रहर भन्दा ठूलो
घरको जिम्मेवारी हुन्छ ।
सपना त उसको पनि थियो
आफ्नै देशमै केही गर्ने,
तर अवसरले ढोका बन्द भएपछि
उसले परदेशको बाटो रोजी ।
हो,
बिदेशिनु रहर होइन,
जीवन धान्ने बाध्यता हो ।
आफ्ना मान्छेका खुशीका लागि
आफ्नै खुशी बलिदान गर्ने
एउटा मौन संघर्ष हो ।



















