जितपुर । लक्ष्मणघाट सामाजिक विकास केन्द्रले आगामी माघ महिनामा बाणगङ्गा नगरपालिका–६, लक्ष्मणघाटमा आगामी माघ पहिलो हप्ता ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा गन्धर्व समुदायको मौलिक कला, संस्कृति, परम्परा र लोकसंगीतको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक प्रतियोगिताका साथै राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
यसले गन्धर्व समुदायको पहिचान उजागर गर्नुका साथै लोपोन्मुख मौलिक लोकसंस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। संस्थाको आज सम्पन्न बैठकले उक्त कार्यक्रमसहित आगामी छ महिनाका लागि विभिन्न सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालका अनुसार बैठकले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी छ महिनाको कार्ययोजना निर्माण गरेको छ। कार्ययोजनाअन्तर्गत यही मंसिर महिनाको तेस्रो साता मुटुसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, यही मंसिर ८ देखि १० गतेसम्म लक्ष्मणघाटमा आयोजना हुने लक्ष्मणघाट पूर्णिमा मेला तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न संस्थाले आवश्यक सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ।
बैठकले संस्थाको आयोजनामा बाणगङ्गा नगरपालिका–६ मा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने विषयमा समेत छलफल गर्दै नगरपालिकासँग समन्वय तथा सहकार्यका लागि पहल गर्ने निर्णय गरेको छ। उक्त कार्यको जिम्मेवारी सस्थाका उपाध्यक्ष अन्जित खनाल, सहसचिव वीरेन्द्र रेग्मी, कार्यसमिति सदस्य विनोद खनाल र कमल पोख्रेललाई दिइएको छ।
संस्थाकी अध्यक्ष सरिता थारुले सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा खेलकुदका माध्यमबाट समुदायको एकता, सहभागिता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आगामी कार्ययोजना निर्माण गरिएको बताइन्।
संस्थाकी अध्यक्ष सरिता थारुको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारीको सहजीकरण तथा आतिथ्यता रहेको थियो। सचिव दिनेश चौधरीले सञ्चालन गरेको बैठकबारे उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालले जानकारी दिएका हुन्।
स्वास्थ्य, संस्कृति, कला र खेलकुदलाई प्राथमिकतामा राख्दै निर्माण गरिएको कार्ययोजनाले लक्ष्मणघाट क्षेत्रको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।




















