काठमाडौँ ,कात्तिक ११
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई लगाउने कोभिड–१९ विरुद्धको १ करोड डोज खोप छिट्टै आउने बताएका छन्।
मन्त्रालयमा बिहीबार भएको पत्रकार भेटघाटमा मन्त्री खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई खोप लगाउनका लागि १ करोड खोप बुक गरिसकेको र नेपाल छिट्टै आउँने जानकारी दिएका हुन्। फाइजर र मोडर्ना गरी १ करोड खोप ल्याउने प्रक्रिया अघि बढीसकेको मन्त्री खतिवडाको भनाइ छ। खोप १५ दिन भित्रमा आइपुग्ने उनले जानकारी दिए।
मन्त्री खतिवडाले भने, ‘१२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज बुक गरिसकेका छौं। कति पैसा भुक्तानी भइसकेको छ भने कति हुन बाँकी छ। फाइजर र मोडर्ना गरी एक करोड खोप १५ दिन आसापासमा आउँछ।’
मन्त्री खतिवडाले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचारका काम हुन नदिने बताए। ‘मेरो कार्यकालमा भ्रष्टाचार भयो। अनियमितता भयो भन्ने विषय तपाईंहरुले लेख्न, सुन्न पाउनु हुन्न र पाउन दिन्न भन्ने मैले अठोट गरेको छु,’ खतिवडाले भने।




















