रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवि चौधरीकै घरभित्र बुहारी कुटिएको घटना सार्वजनिक भएको छ । उपप्रमुख चौधरीकी बुहारी २५ वर्षीया बर्षा थारुले घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी बर्षा थारुलाई श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा ठाडो उजुरी परेको थियो । उजुरीपछि छलफलका लागि वर्षाका श्रीमानलाई सोमबार बोलाएपनि उनी उपस्थित नभएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ग्लोबल आवाजलाई बताए ।
मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु(ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।
एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको गुनासो गरिन् । यस बारेमा अहिले आफुले केही प्रतिक्रिया नदिने र घटनाको विषयमा आफूले आधिकारिक रुपमै धारणा प्रस्तुत गर्ने चौधरीले बताएकी छन् ।




















