युवा नेतृत्वको पक्षमा उपल्लो तह छैन : निर्वाचनमा प्रयोग मात्रै हुन्छन् ‘युवा’

[sharethis-inline-buttons]

टुकलाल गैरे

नेपालको समग्र राजनीतिक आन्दोलन नै क्रान्तिको चरणमा गतिशील, नवीन र जनमुखी हुने तर व्यवस्थापन र निर्माणको चरणमा पुगेपछि यथास्थितिले घेराबन्दी गर्ने प्रवृत्ति देखियो । ठूला आन्दोलन भए, संविधान पनि बन्यो तर आन्दोलनले निर्दिष्ट गरेको बाटो, लक्ष्य र गन्तव्यमा अन्योल देखियो । यो कुरा युवा आन्दोलनमा पनि देखियो । १० वर्षे जनयुद्ध वा ०६२/०६३ जनआन्दोलनमा युवाहरूको उभार आएको हो । युवाहरूकै कारण त्यो परिवर्तन सम्भव भएको हो । यसको रापताप केही वर्षमा त रह्यो तर विस्तारै युवाहरू देखिने, सुनिने र छलफल गरिने विषय कम हुँदै गए । राजनीतिक आन्दोलनलाई गति दिन र यसमा नयाँ चेतना भर्न युवा आन्दोलनको ठूलो योगदान रह्यो । जनमुखी र क्रान्तिकारी संस्कारमा केही समस्या भयो । पछिल्लो समय युवाहरूको राजनीतिक आन्दोलनप्रति त्यति धेरै रूचि देखिँदैन । आन्दोलन र युद्धका क्रममा जन्मिएकाहरू अहिले जनमत प्रकट गर्ने र निर्वाचनमा सहभागी हुने उमेर समूहमा छन् । तर त्यो वर्ग र उमेर समूहमा युवा, विद्यार्थी आन्दोलन पुग्न सकेको छैन । युवा विद्यार्थीका संगठनहरू निरन्तरतामा चलेको देखिन्छ । तर नवप्रवर्द्धनात्मक मुद्दामा युवाहरू पछि नै परेका छन् । एउटा छटपटि, आलोचनात्मक चेत र वैचारिक राजनीतिक बहसका साथमा जनतममा जोडिने कुरामा युवाहरूमा समस्या देखियो ।

युवा नेतृत्व तीन किसिमबाट जन्मिन्छ । एउटा आन्दोलनबाट जन्मन्छ । कांग्रेस र एमालेका अहिलेका पाका नेताहरू युवा आन्दोलनबाटै आएका हुन् । माओवादी जनयुद्धले पनि युवाहरूलाई नेतृत्वमा ल्याएकै हो ।

आन्दोलन सकिएपछि अफ्ठयारो भयो । दोस्रो तरिका भनेको युवाको सचेत हस्तक्षेप हो । जुन कुरामा हामी युवाहरू नै चुक्यौं । तेस्रो राजनीतिक दलले हुर्काउने कुरा हो । यहाँ तिनै कुरा भएन । युवाहरू मुद्दा उठाउन सफल तर त्यसको स्थायित्वका लागि स्वामित्व ग्रहण गर्दै कार्यान्वयनमा असफल भएको देखिन्छ ? यस्तो किन हुन्छ ? युवाहरूको सचेत प्रयत्न नभएपछि त्याग, तपस्या वा बलिदानीपूर्वक जनताको सेवामा राजनीतिलाई जोड्ने कुरा पनि धर्मरायो । अर्को कुरा, पार्टी संगठन अराजकता वा लथालिंग अवस्थामा पुगेको सत्य हो । वस्तुगत हिसाबले हेर्ने हो भने अहिले कुनै पनि ‘मुभमेन्ट’ नै छ । युवाहरू ‘इन्गेज’ हुने या नयाँ विचार बहसका लागि अध्ययन अनुसन्धानमा जोडिने अवस्था छैन । यो अवस्था पार्टीभित्र पनि छैन् बाहिर त झन यसको संस्कार नै देखिँदैन । कुनै कुरामा पनि युवा जोडिन नसकेको वा राज्यको पनि प्रथामिकता नपरेको देखिन्छ । अझ भनौं, पुरानै व्यवस्थाका प्रतीक पद, पैसा र सत्ताको आशक्तिमा युवाहरू लोभिएका छन् । यसले गर्दा समग्र देशलाई नोक्सानी मात्रै छ । युवामा रहेको जोश, युवाअवस्थामा हुने रचनात्मक चिन्तन, युवाको उर्जा ओझेलमा परेको छ । दलीय नेतृत्वको दबाबले निर्णायक तहमा आफ्नो प्रभाव देखाउन नसकेको सत्य पनि हो । तर युवा आफैंले नयाँ ढंगले गम्भीर पहल नलिएको कुराचाहिँ मुख्य हो । युवा नेतृत्व स्थापित हुन नसक्नुमा अहिलेको हाम्रो राजनीतिक प्रणाली दोषी हो कि समाजको स्वीकार्यताको दायरा बढाउन नसकिएको हो ?

युवाहरूले समाजको विश्वास आर्जन गर्न नसकेको पनि हुन सक्छ । युवा आफैँले हस्तक्षेपकारी भूमिका बढाउन आवश्यक छ । हस्तक्षेप भौतिक आन्दोलनमा मात्र नभएर राजनीतिक र वैचारिकरूपले एजेण्डा निर्माण र त्यसको कार्यान्वयनमा हुनुप¥यो । अब युवाहरूले अध्ययन अनुसन्धानमार्फत वैचारिक र राजनीतिक वृत्तमा आफ्नो भूमिका खोज्न आवश्यक छ । मूलरूपमा युवाको काम खोज अनुसन्धान र व्यापक जनपरिचालन हो । केन्द्रीय मुद्दादेखि गाउँको मुद्दासम्म युवाको उपस्थिति हो । समाजवादको कुरा होस् या संघीयता कार्यान्वयनको कुरा होस् गाउँमा शिक्षा, स्वास्थ्यबाट वञ्चित कुरा होस् । यस्ता विषयमा युवाले हस्क्षेपकारी परिवर्तन गर्न सकेको खोई ? हामीले अभ्यास गरिरहेको राजनीतिक प्रणालीले केही असहजता बनाएको हो । युवा र राजनीतिक दलले यसलाई वैचारिक र रचनात्मक बनाउन लगानी गर्नुपर्छ । राजनीतिक गतिविधिमा बढी क्रियाशीलता देखाउनुपर्ने छ । युवाले अब प्रश्न गर्न सुरू गर्नुपर्छ । हामीकहाँ प्रश्न गर्ने र जवाफ माग्ने अभ्यास कमी छ ।

अहिलेको प्रणालीलाई कसरी वस्तुवादी र वैज्ञानिक बनाउँदै जनताको सेवामा जोड्न सकिन्छ भनेर चिन्तन गर्न अब ढिला गर्नु हुँदैन । हामी कसको पक्षमा हो ? आजको युवा कसको पक्षमा हो ? युवाले दलाल, तस्कर र सामन्तको पक्षधरता लिने हो कि गरिब र तल्लो तहका जनताको पक्षमा उभिने हो जवाफसँगै फैसला गर्नुपर्ने बेला आएको छ । जनताका समस्यासँग जोडिने गरी कार्यक्रमलाई वैज्ञानिक र वस्तुपरक बनाउन आवश्यक छ । अर्को विषय भनको नेपालका प्राकृतिक स्रोत साधनको पहिचान र प्रयोग मार्फन युवा उद्यमशीलतालाई अगाडि बढाउने युवाको एजेण्डा हुनुपर्छ । सांस्कृतिक, ऐतिहासिक स्रोतको प्रयोगमार्फत समृद्धि खोज्ने बेला हो यो । हामीसँग युद्ध सम्पदाहरू छन् । यिनको प्रवर्द्धनमार्फत उद्यमशीलता सिर्जना गर्न सकिन्छ । यसले युवाहरू सिर्जनात्मक काममा जोडिन सक्छन् भने ग्रामीण अर्थतन्त्रमा यस्ता गतिविधिले योगदान पु-याउँछ  ।

युवाहरूको मुख्य काम के हो ?

युवाहरूको मुख्य काम खोज अनुसन्धान नै हो । संसारमा सबै खोज र अनुसन्धानहरू युवाले नै गरेका छन् । दोस्रो काम स्वउद्यमको प्रवद्र्धन हो । हाम्रो जस्तो राज्यले सबैलाई रोजगारी दिन सक्दैन । तसर्थ युवालाई राज्यले नीतिगत, अनुदान लगायतका कुरामा कसरी सहजीकरण गर्ने भन्ने विषयमा ढिला गर्नु हुँदैन । ग्रामीण औधोगिकरणको प्रक्रियामा कसरी जोडिने ? तेस्रो काम भनेका स्थानीय देखि केन्द्रीय मुद्दामा राजनीतिक दल र सरकारलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने हो । र चौथो काम भनेको खेलकुद क्षेत्रको विकास नै हो । यि चारै काम सन्तोषजनक छैनन् । युवाको नेतृत्व विकासका लागि पार्टीभित्र कुनै बहस छैन । नेता वा गुटको प्रभावबाट पार्टीका युवा विद्यार्थीका भ्रातृ संगठनहरू निर्माण हुन्छन् । यो अवस्थामा तपाईंले भनेको जस्तो युवाहरू सिर्जनशील हुने र देशलाई नयाँ दिशा दिन सक्छ ?

क्रान्तिकारी आन्दोलन सकिनेबित्तिकै युवा आन्दोलन पनि सकिँदो रहेछ । युवाहरू नेतृत्वमा आउने विधिहरू स्पष्ट हुनुपर्छ ।

उमेरले युवा मात्र भएर भएन । क्षमतावान् युवाहरू अगाडि आउने वातावरण बनाउनुप¥यो । नेपालमा इमानदारिता र क्षमतावान् युवा नेतृत्वको खडेरी भएकै हो । राजनीतिक पार्टीमा यो इमानको राजनीति गर्छु, देश परिवर्तन र जनताको सुख समृद्धिकै लागि काम गर्छु भन्ने पंक्ति सकिँदै गएको छ । क्षमताका आधारमा कमिटीहरू निर्माण हुनुपर्छ । उपल्लो तहको राजनीतिक नेतृत्व युवाहरूको नेतृत्व विकास र क्षमताको विकासमा गम्भीर छैन । युवाको आगमन भएकै छैन भन्दा केही देखिन्छन् । प्रमुख पार्टीमा युवाहरू देखिन्छन् । केही त सरकारमा छन् । युवाहरू सरकारमा जानु र नजानुको कुनै तात्विक भिन्नता देखिएन त ? युवाहरू युवा चिन्तनसहित सरकारमा जान पाएका छैनन् । कहिलेकाहीँ त अझ नेतृत्वको कृपाले गएका छन् । युवाहरूले स्वतन्त्र विचार बनाउन पाएकै छैनन् । तसर्थ समस्या जताततै छ । युवाले यथास्थितिप्रति प्रश्न गर्ने, नयाँ खोज गर्ने, नयाँ दिशामा युवाहरूलाई लिएर हिँड्ने प्रवृति पूरै निरूत्साहित छ ।

स्थानीय तहको निर्वाचनमा युवाको भुमिका वारे समिक्षा गरौँ ।

गएको वैशाख ३० गते संविधान कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचन सम्पन्न भयो । निर्वाचन छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सम्पन्न भयो ।

निर्वाचनबाट ७५३ स्थानीय तहमा ३५ हजार बढी जनप्रतिनिधि आगामी पाँचवर्षे कार्यकालका लागि चुनिए । नेपालको संविधान अनुसार यी स्थानीय तहहरू स्थानीय सरकार हुन्, जोसँग आफ्ना गतिविधि संचालनका लागि कानुन निर्माण गरी लागु गर्नेसम्मको अधिकार रहेको छ ।

यस पटकको निर्वाचन आवधिक हो । आवधिक निर्वाचन लोकतन्त्रको आधार हो । पहिलो निर्वाचनले राज्यको पुनर्संरचनालाई चिनाउने काम ग¥यो । त्यस निर्वाचनले स्थानीय तह, प्रदेश र संघीय संरचनाबारे आम जनतामा व्यावहारिक ज्ञान दिलाएको थियो । गएको स्थानीय तह निर्वाचनसँगै चुनिएका ३५ हजार बढी प्रतिनिधिले स्थानीयस्तरमा शासनसत्ताको अभ्यास गरे । अबको निर्वाचनले त्यो इकाईलाई जनपक्षीय बनाउने, राज्यमा जनसहभागितालाई सुनिश्चित तथा स्थानीय तवरमा राजकीय अभ्यासलाई संस्थागत गर्ने काम गर्दछ ।

आवधिक निर्वाचनसँगै एकपटक पुनः जनादेशको महत्व उजागर भएको छ । यो निर्वाचनमा पनि थुप्रै नयाँ पुस्ताका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिए । नयाँ पुस्ताले आफूलाई कुनै न कुनै रूपमा राजनीतिक रूपले सक्रिय बनाएको देखियो । युवा पुस्ताले निर्वाचनमा दलीय वा स्वतन्त्र रूपमा उम्मेदवारी मनोनयन गरी राजनीतिक सक्रियता देखायो ।

युवाहरू अहिले राजनीतिमा सक्रिय हुनु वास्तवमै सकारात्मक पक्ष हो । कतिले मिडिया र सामाजिक सञ्जालमा स्थान पाएका छन् तर, कति आ–आफ्नै क्षेत्रमा सीमित छन् । दलभित्रको जीर्ण हुँदै गएको लोकतन्त्र र दलीय अहंकार अनि दिशा र दृष्टिकोणविहीन बन्दै गएका दलहरूको रवैया देखेर धेरै युवाहरु दिक्क पनि भएका छन् । परिणाम जेसुकै आओस् अहिलेको निर्वाचनमा युवाहरूले देखाएको जागरण र सक्रियतालाई सकारात्मक रूपमा ग्रहण गर्दै नेपालको राजनीतिमा युवा सक्रियता बढ्दै गएको अनुभव गर्न सकिन्छ । तथापि राजनीतिमा युवाको जागरण र सक्रियता पर्याप्त एवं दिगो भने छैन ।

अझै पनि राजनीतिक दलमा आवद्ध युवाहरूले आफ्नो स्वविवेकको प्रयोग गरी राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । स्वतन्त्र रूपमा क्रियाशील युवा शक्ति केवल राजनीतिक दलहरूप्रतिको वितृष्णाका कारण खडा भएका छन् । राजनीति पक्कै पनि पटके कार्यभार हैन, यो निरन्तरको जवाफदेहिता र खबरदारी हो ।

जनअपेक्षासँग निरन्तर पौंठेजोरी खेल्दै आफ्ना एजेण्डाहरू स्थापित गरी समाजलाई गतिशील बनाउने कार्य राजनीतिको हो । त्यसैले कुनै कालखण्डमा स्वतन्त्र रूपमा उदाउने केही पात्रकेन्द्रित जनमतले राजनीतिको डाइनामिक्सलाई नै बदल्छ भनेर कल्पना गर्न सकिंदैन । किनकि समाज बदल्ने प्रक्रिया भनेको निरन्तरतामा हुने उपक्रम हो ।

युवा शक्ति त्यस्तो अक्षुण शक्ति हो, जसले वर्तमानको कार्यभारलाई काँधमा बोकेर हिंडेको हुन्छ । विगतमा युवालाई भविष्यको कर्णधारको रूपमा मात्रै व्याख्या गरियो । तर, वास्तवमै युवा भविष्यको कर्णधार हैन, वर्तमानकै साझेदार हो ।

यो पुस्ता आफैंमा वर्तमानको विकल्प हो । यो त्यस्तो शक्ति हो जसले बदलिएको राजनीतिक गन्तव्यलाई निष्कर्षमा पु¥याउन सक्छ । यो पुस्ताले नै अबको राजनीतिक कार्यभार सम्हाल्न सक्छ । समाज र देशलाई सही दिशानिर्देश गर्न सक्छ ।

युवा शक्तिको कुरा गर्दा अहिले हामी राष्ट्रिय रूपमै जनसांख्यिकीय लाभको अवस्थामा छौं । जनसांख्यिकीय बनावट अनुसार अहिले प्रत्येक घरमा दुई या तीन जना युवा जनशक्ति छ, जसको जन्मान्तर ५ देखि ७ वर्ष मात्र छ । यसर्थ अहिले हामी युवाशक्ति अधिकतम बचतको अवस्थामा छौं । तर, आगामी तीन दशकमा यो जनसांख्यिकीय अनुपात निकै कम हुने देखिन्छ ।

किनकि अबको परिवारको आकार निकै सानो भइसकेको छ । यसर्थ, युवा शक्ति जसलाई अझै पनि हाम्रो समाजमा भविष्यको कर्णधारकै रूपमा हेर्ने गरिन्छ, यो शक्तिलाई वर्तमानका साझेदार अनि भविष्य निर्माणका आधारको रूपमा परिभाषित गरेर यो युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने आवश्यकता हो । यहींनेर नीति–निर्माता चुकेका छन् । दलको नेतृत्व चुकेको छ । समग्रमा हाम्रो राज्य चुकेको छ ।

अहिले करिब ७० लाख नेपाली कामको खोजीमा विदेशिएका छन् । यसरी विदेशिएको जनशक्ति साँच्चिकै काम गर्ने उमेर समूहको शक्ति हो । यसो कल्पना गरौं त, ७० लाख श्रमशक्ति विदेशिएको नेपाल जस्तो सानो मुलुकको आर्थिक समृद्धिको सपना कसरी पूरा होला ?

अलिकति अतिततिर फर्केर हेर्दा विगतमा युवापुस्ता बन्द, हड्ताल, सभा, जुलुसतिरै बढी केन्द्रित भएको थियो । फेरि त्यो राजनीतिक व्यवस्था फेर्ने अभियानको समय थियो र आवश्यकता पनि । अनि विगतमा युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन ।

अहिले युवाको अपेक्षा र वर्तमान आवश्यकताबीच जटिल प्रकारको अन्तरविरोध पैदा भइरहेको छ । यदि साँच्चिकै हामीले सोचेजस्तो विकास, समृद्धि, प्रगति र उन्नतिको मार्ग समात्ने हो भने युवा सक्रियता र परिचालनको विरोधाभास अन्त्य गर्नुपर्छ ।

हामीले खोजेको जस्तो समृद्धिका लागि सबैभन्दा पहिले जोश, जाँगर भएको अनि हरेक काममा सक्रियतापूर्वक खटिन सक्ने त्यो युवा शक्तिलाई विदेशिनबाट रोक्न सक्नुपर्छ । उनीहरूलाई रोक्ने एउटै मात्र उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीका अवसरहरूको सिर्जना गर्ने हो । औद्योगिक उत्पादन बढाउने हो । उत्पादन बढाउनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने हो । उद्यमशील सोचको विकास गर्ने हो । यसको पहलकदमी राज्यबाटै हुनु आवश्यक छ ।

आजको हाम्रो लडाईं गरिबी र विपन्नता विरुद्धको हो । यसका लागि हामीले आफूसँग भएको सुनको थाल चिन्नुछ र त्यसैबाट उद्यमशीलताको विकास गर्नुछ । कृषिको आधुनिकीकरण, वैज्ञानिक र जीवनोपयोगी शिक्षा, आम नागरिकमा स्वास्थ्यको पहुँच, व्यवस्थित र वैज्ञानिक पूर्वाधारहरूको निर्माण, पर्यटन, घरेलु र ठूला उद्योगहरूको विकास, खानेपानी र सिंचाइको सुविधा, स्वरोजगार लगायत परियोजनाहरू युद्धस्तरमा सञ्चालन गर्न अब राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक छ । यसका लागि नयाँ पुस्ता राजनीतिक रूपले सचेत बन्नु त पर्छ नै अब यो पुस्ताले आफ्नो र अर्को उदाउँदै गरेको चौथो पुस्ताका लागि पनि राजनीतिक सक्रियता देखाउनु जरूरी छ ।

देशमा राजनीतिक परिवर्तन त भयो तर, सत्ताको मूलभूत चरित्रमा कुनै बदलाव आउन सकेन । अनि त्यो परिवर्तनले जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन सकेन । त्यसैले अब अहिलेसम्मको राजनीतिक कार्यदिशा र नाराको उपादेयता समाप्त भएको संकेत गर्दछ । अनि प्रश्न स्वाभाविक रूपले उठ्छ त्यो परिवर्तनले किन जनताको जीवनमा बहार ल्याउन सकेन ? किन राजनीतिक परिवर्तनको लाभांश जनस्तरसम्म पुग्न सकेन ? किन जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकेनन् ?

निःसन्देह अघिल्लो पुस्ताले राजनीतिक परिवर्तन र व्यवस्था बदल्ने कार्यमा योगदान ग¥यो । त्यसलाई सम्मान गर्दै अब जनताको अवस्था फेर्ने विकास र समृद्धिमुखी राजनीतिका लागि नयाँ युवा पुस्ता सक्रिय हुनुको विकल्प छैन । राजनीतिक यात्रा स्वतन्त्रको हैसियतमा हैन, दलीय हैसियतमै निरन्तर हुनुपर्छ । किनकि लोकतन्त्रमा दलको विकल्प छैन, खोज्नु पनि हुँदैन ।

लेखक : टुकलाल गैरै, जिल्ला युवा समिति कपिलवस्तुको अध्यक्ष पनि हुनुहुन्छ ।

 


प्रकाशित : २०७९ भाद्र २५, शनिबार १५:१८