
हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक विद्यार्थी नेताले आफ्नो २६ औँ जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृहका बेसाहारा वालकहरुलाई भोजन खुवाई उदाहरणिय कार्य गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ निवासी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीका सह–सचिव बिष्णु घिमिरेले जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृह तौलिहवाका बेसाहारा वालकहरुलाई भोजन गराउनुभएको हो ।
वि.स. २०५३ साल चैत १५ गतेका दिन जन्मिनुभएका विद्यार्थी युवा नेता घिमिरेले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो ।
जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला घिमिरेले गतिलो उदाहरण दिनुभएको छ ।
उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । जिल्ला कमिटी सह–सचिव घिमिरेले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।
भोजन ग्रहण गरेसंगै वाल गृहका वालकहरुले सह–सचिव घिमिरे लगायत परिवारलाई धन्यवाद दिंदै समुज्ज्वल भविष्यको कामना गरेका थिए ।
सो क्रममा वाल गृहका अध्यक्ष गोपलमणि ज्ञवाली, अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनाल लगायतको उपस्थिती रहेको थियो ।