हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका सांसद गिरीधारीलाल न्यौपानेले सरकार अल्पमतमा परेको प्रमाणित भएको एक मिनेट पनि पार्टी सरकारमा नरहने बताएका छन् । ’कानुनका विषयमा हामी प्रष्ट छौं, कसैले बाटोमा माग्दैमा छाडेर हिंड्ने गैरजिम्मेवारी जिम्मेवारी भएको पार्टी र नेतालाई सुहाउने कुरा भएन, कानुनी रुपमा अल्पमतको प्रमाणित गराउनुहोस्, हामी एक मिनेट बस्नचाहेका छैनौं’, उनले भने । नयाँ गठबन्धनमा रहेका नेताहरु धेरै हौसिन नहुने बताउँदै सांसद न्यौपानेले भने, ’अहिलेको संरचनाले कसैलाई बहुमत दिएको छैन, सधै एकै गठबन्धन रहँदैन, सरकार कसैको स्थायी होइन, कोही हौसिन जरीरी छैन, वल्ला घरको नरे पल्ला घर सरे भनेजस्तै हो, सबैलाई संयमित भएर कानुनी आधारमा बोल्न म आग्रह गर्दछु’, उनले भने ।
एमालेका कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहेका सांसद न्यौपानेले वल्ला पल्ला घरका मिलेर सत्तामा जान दौडधुप गरेको देख्दा जनताको लागि जितेको नभई सत्ताका लागि निर्वाचनमा लडेको महशुस भएको बताए । उनले जनताले मल खोई ? भन्दै सोधिसकेकाले मिलिजुली बनेको सरकारले मलको अहिले सम्म टेण्डर समेत गर्न असफल भएको बताए । हाम्रो देशका कृषकहरुलाई वार्षिक १७ लाख मेट्रिक टन मलको आवश्कयता रहेको बताउदै त्यो कुरा हेक्का राख्ने फुर्सद सरकारलाई नभएको बताए ।
जुनसुकै पार्टी सरकारमा भए पनि एमाले पार्टी जनताको साथमा रहेको बताए । त्यस्तै अहिले सत्ताकै लागि मरिहत्ते गरि सरकारमा गए पनि सधै भरि सत्तामा बस्न पाईन्छ भन्ने भ्रम त्याग्न समेत चेतावनी दिएका छन् ।