बाल अधिकार चेतना समूहद्वारा जातिय विभेद सम्बन्धी सडक नाटक प्रदर्शन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु

कपिलवस्तु नगरपालिका – ३ स्थित श्री यशोधरा माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा इन्सेकको सहयोगमा शिक्षा, स्वास्थ्य , वातावरण, जातिय विभेद तथा लैंगिक विभेदविरूद्ध चैत २८ गते वडा नं. १ को गौढी चोकमा सडक नाटक प्रदर्शन गरिएको छ ।

नाटकमा छुवाछुत, जातिय विभेद तथा लैंगिंक विभेद, शिक्षा, स्वास्थ्य र वातावरण लगाएतको विषयमा नाटक प्रस्तुत गरिएको थियो । उक्त नाटकमा सिप र श्रम चल्ने तर पानी नचल्ने, दलितले कुदेका मुर्ति तथा भाँडाहरु चल्ने तर दलितले छोएको पानी नचल्ने लगाएतका बिषयमा समूहले प्रस्तुत गरेका थिए ।

सडक नाटकलाई अवलोकन गर्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले सान्दर्भिक बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो । उहाँले छुवाछुत तथा जातिय विभेद , शिक्षा , स्वास्थ्य , लैंगिक विभेद , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु अफैंमा महत्वपूर्ण भएको बताउनु भयो ।

अहिले पनि समाजमा दलितलाई तल्लो जातको रुपमा लिई बिभिन्न विभेद गर्दै आईरहेको हुँदा यस्ता सन्देश मूलक नाटक ग्रामिण क्षेत्रमा प्रदर्शन गर्न सके समाज परिवर्तनमा टेवा पुग्ने बिश्वास गर्नु भयो । यस्ता जनचेतना र सन्देश प्रवाह गर्ने अभियानका लागि वडाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी विद्यालयका प्रधानाध्यापक बिनोद कुमार कुर्मीले बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले समाजका व्यक्तिहरुले बनाएको कामको आधारमा गरिएको वर्गिकरणलाई विभेद गर्न नहुने र मानव जाति सबै समान हुनुपर्नेमा जोड दिनु भयो ।

मानिसले मानिसलाई हेर्ने दृष्टिलाई परिवर्तन गर्ने र श्रमको सम्मान गर्ने लगाएतका अभियानहरुमा इन्सेकले बिभिन्न शिक्षा , स्वास्थ्य , छुवाछुत , जातिय विभेद , लैगिंक विभेद र वातावरण लगाएतको बिषयमा अभियानहरु संचालन हुँदै आएको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले इन्सेकले गर्दै आएको अभियानहरुको विषयमा जानकारी दिंदै बिद्यालय स्तरिय वाल अधिकार चेतना समूह मार्फत गरिने विभिन्न सन्देश मुलक कार्यक्रमहरुबाट सकारात्मक सन्देश जाने बताउनु भयो ।

यस्तै नाटक अवलोकन गर्दै दर्शकहरुले यस्ता सन्देश मूलक नाटकहरुबाट समाज पविर्तन गर्न सहज हुने बताएका छन् ।

बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । नाटकमा म छुवाछुत गर्दिन , छुवाछुत हुन दिंदिन र भएमा सहेर बस्दिन भन्ने समूहले प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित : २०७९ चैत्र २८, मंगलवार १९:५३