विज्ञापन बोर्ड खारेजीको माग प्रति प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतको आपत्ति

[sharethis-inline-buttons]

लुदअ, काठमाडौं
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनको रकम अपुग भएको जानकारी सरकारलाई दिँदा पनि सरकारले नियतवश सो रकम नदिएको बताउनुभएको छ ।

अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले विज्ञापनको रकम नदिएर विज्ञापन बोर्डलाई धानमा पार्ने काम गरेको बस्नेतको भनाइ छ । सोही विषयलाई घानमा हालेर विज्ञापन बोर्ड खारेजीको माग उठेको भन्दै बस्नेतले आपत्ति जनाउनुभएको छ । ‘विज्ञापन बोर्डको खारेजीको माग प्रतिगामी हो, विज्ञापन एजेन्सीको दलाली हो, पत्रकारिताको आवरणमा यो दलालीकरण नगरौँ’, बस्नेतले भन्नुभयो ।

विज्ञापन बोर्डले जेठ १५ बाट लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्न रकम अपुग भएको जानकारी गराएको तथ्य नबिर्सन उहाँले आग्रह गर्नुभएको छ । ‘अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले अपुग रकम माग भएअनुसार नदिएको तथ्यलाई बोर्डको सूचनाले उजागर गरेको छ, यो तथ्य ढाकछोप गरेर विज्ञापन बोर्ड खारेजी र पदाधिकारीको राजीनामा माग गर्नु भनेको काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो’, बस्नेतले भन्नुभयो ।

सरकारले अपुग २ करोड ४३ लाख रुपैँया तत्काल उपलब्ध गराउनु पर्ने बस्नेतले बताउनुभयो । विज्ञापन बोर्ड खारेजीको कुरा किमार्थ स्वीकार्य नहुनु उहाँले प्रष्ट पार्नुभएको छ । ‘अब बोर्ड खारेजीको मागसहित हुने विज्ञापन एजेन्सीको अभियानमा प्रेस चौतारी नेपाल सहभागी हुन्न, आवश्यक परे प्रतिवाद चाहिँ हुनेछ’, बस्नेतको चेतावनी छ ।

प्रेस चौतारी नेपाल लोककल्याणकारी विज्ञापनको भुक्तानी हुनुपर्छ भन्ने अडानमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘ हामी कर्मचारीसँग सेटिङ मिलाएर ९० प्रतिशत रकम आफैँ राखी मिडियालाई १० प्रतिशत मात्रै भुक्तानी गर्ने बिचौलिया र दलालीको विपक्षमा छौँ’, बस्नेतले भन्नुभयो ।

सनराईज खबरबाट साभार

 


प्रकाशित : २०८० जेष्ठ ११, बिहीबार १७:१३