लुदस, कपिलवस्तु
नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानवअधिकार एलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष मीन बहादुर शाहिको हस्ताक्षरमा प्रेस वक्तव्य मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रेस वक्तव्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरूपयोग भएको उल्लेख गरिएको छ । त्यस्तै नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो । यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथी कडा कारवाही गर्न माग समेत गरिएको छ ।
आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानवीन गर्न, दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्ममान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानवअधिकार एलाइन्स जोडदार माग गर्नुका साथै अनुसन्धान प्रकृयालाइ सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानवअधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरू समक्ष आग्रह गरिएको छ ।




















