
हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक युवाले जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृहका बेसाहारा वालकहरुलाई भोजन खुवाई उदाहरणिय कार्य गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ बाणगंगा निवासी सुशिल आचार्यले २३ औं जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृह तौलिहवाका बेसाहारा वालकहरुलाई भोजन गराउनुभएको हो ।
वि.स.२०५७ साल चैत जेठ २६ गतेका दिन जन्मिनुभएका युवा आचार्यले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो ।
जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला आचार्यले गतिलो उदाहरण दिनुभएको छ ।
उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । आचार्यले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

