लुदअ,बुटवल ।
पहिलो पाईला नेपाल तिलोत्तमा शाखाको आयोजना तथा पहिलो पाईला नेपाल बुटवल शाखाको सहकार्यमा स्वच्छ वातावरणको निर्माण, पर्यावरणीय दिगो विकास तथा हरित तिलोत्तमा बनाउने उद्देश्य अनुरुप १००८ बृक्षारोपण अभियान सम्पन्न भएको छ ।
तिलोत्तमा नगरभित्रका सामुदायिक वन तथा पार्क क्षेत्रका खाली स्थानमा विभिन्न चरणमा विभिन्न प्रजातिका १००८ वटा बिरुवाहरु रोपिएको छ । अभियानको अन्तिम बृक्षारोपण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. ११ स्थित सुखौरा हरियाली सामुदायिक वन क्षेत्रमा रहेको खाली स्थानमा विभिन्न प्रजातीका ७०० बिरुवाहरु रोपण गरिएको हो । पहिलो पाईला नेपाल तिलोत्तमा शाखाका अध्यक्ष सन्देस पोख्रेलको अध्यक्षता, सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम गौतमको प्रमुख आतिथ्यता, पहिलो पाईला नेपाल केन्द्रिय कार्यसमिति, तिलोत्तमा शाखा, बुटवल शाखा तथा सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
असार महिनाको अन्तिम साता औपचारिक कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी टिकाराम गौतमले संस्थाले संचालन गरेको अभियान लाई धन्यवाद दिदै युवाहरुमा सामाजिक कार्यप्रतिको उत्तरदायित्व बोध भई सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपालको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । समापन कार्यक्रमा बोल्दै तिलोत्तमा शाखा अध्यक्ष सन्देस पोख्रेलले बृक्षारोपण गर्ने स्थान उपलब्ध गराई समन्वयात्मक भुमिकाप्रति सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारी, सहित सबैप्रति कृतज्ञता ब्यक्त गरेका थिए ।
१००८ बृक्षारोपण अभियान अन्तर्गत रही करहिया सामुदायिक वन, सुखौरा हरियाली सामुदायिक वन, तिलोत्तमा पार्क, हरैया स्वास्थ्य चौकी परिसर तथा बुटवल बहुमुखी क्याम्पस परिसरमा रहेको खाली स्थानमा बिभिन्न प्रजातिका १००८ भन्दा बढी बिरुवाहरु रोपण गरि यो अभियान समापन भएको छ । अभियानको लागि जिल्ला वन कार्यालय रुपन्देहीले विरुवाहरु उपलब्ध गराएको थियो ।